कोहलपुर । बाँकेको कोहलपुरमा प्रहरीले एक राउण्ड हवाई फायर गरेर ठूलो परिमाणमा लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र सुर्खेतबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा सोमबार कोहलपुर नगरपालिका–६ मा अफिमको कारोबार भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले घेरा हालेपछि दुवै जना भाग्न खोजेका थिए । उनीहरूलाई रोक्न प्रहरीले चेतावनीस्वरूप एक राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेमा रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र कोहलपुर नगरपालिका–६ का ६० वर्षीय टोपजङ्ग गिरी रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट १४ किलो ७६० ग्राम अफिम र दुई थान मोबाइल फोन बरामद गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको छ ।
