भैरहवा । रुपन्देहीको बुटवलमा भन्सार छली गरी भण्डारण गरिएको ८२ लाख १५ हजार रुपैयाँभन्दा बढी मूल्यको जुत्ता तथा चप्पल बरामद भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी भूपेन्द्रबहादुर खत्रीले परिचालन गरेको विशेष टोलीले बुटवल उपमहानगरपालिका–१३, नयाँगाउँ अमरपथस्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा तस्करीका सामान बरामद गरेको हो ।
बरामद भएको स्थान इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवको कार्यक्षेत्रमा पर्छ । अर्थात् डीएसपीकै कार्यक्षेत्रमा रहेको गोदाममा प्रदेश प्रहरीको टोली पुगेर तस्करीको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार चारवटा कोठामा भण्डारण गरिएको १ हजार ९३ जोर लेडिज चप्पल, १ हजार ६ सय ८५ जोर लेडिज जुत्ता, ४ हजार ४ सय २२ जोर बच्चाका जुत्ता र १ हजार ३ सय ५० जोर जेन्स चप्पल बरामद भएको छ ।
रुपन्देहीका विभिन्न नाकाबाट हुने तस्करी नियन्त्रणमा स्थानीय प्रहरीको भूमिकामाथि प्रश्न उठिरहेका बेला डीआईजी खत्रीले जिल्ला तथा इलाका प्रहरीबाट प्रभावकारी हुन नसकेका क्षेत्रमा प्रदेशबाटै विशेष टोली परिचालन गर्दै आएका छन् ।
बरामद सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बुटवलमा बुझाइएको छ ।
