काठमाडौं । अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ हिरासतबाट रिहा भएका छन् । सोमबार अदालतले उनलाई हिरासतबाट छाड्न आदेश दिएपछि श्रेष्ठ रिहा भएका हुन् ।
रिहा भएपछि पत्रकार श्रेष्ठले हिरासतमा आफूलाई कानुन व्यवसायीसँग समेत भेट गर्न नदिइएको बताएका छन् । आफूविरुद्ध भएको पछिल्लो घटनालाई उनले दबाबको सुरुवातका रूपमा अर्थ्याउँदै आगामी दिनमा अन्यले पनि यस्तै अवस्था भोग्नुपर्ने हुन सक्ने आशङ्का व्यक्त गरे ।
श्रेष्ठले आफूले देखेको र सत्य ठानेको विषयमा समाचार लेख्दा विगतमा पनि सत्ताको दबाब र ज्यादती सामना गर्नुपरेको बताए । तर यस्ता दबाब र घटनाले आफूलाई पत्रकारिताबाट पछि हटाउन नसक्ने उनको भनाइ छ ।
‘कानुन व्यवसायीलाई समेत भेट्न दिएनन् । तर मैले हारेको छैन । म हार्दिनँ । म नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ,’ रिहाइपछि श्रेष्ठले भने ।
उनले गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन सार्वजनिक गरेदेखि नै आफूले उठाएका विषयप्रति केही पक्ष असन्तुष्ट रहेको दाबी गरे । आफूले सार्वजनिक गरेको विषयकै कारण दबाब सिर्जना गरिएको उनको संकेत थियो ।
श्रेष्ठले सरकारलाई कानुन हातमा लिएर राज्यका संयन्त्र सञ्चालन नगर्न चेतावनीसमेत दिए । राज्यका निकायको प्रयोग गरेर पत्रकारलाई दबाबमा पार्ने प्रयास स्वीकार्य नहुने उनको भनाइ छ ।
आफूले देखेका र सत्य ठानेका विषय पत्रकारितामार्फत सार्वजनिक गर्ने कामबाट पछि नहट्ने स्पष्ट पार्दै श्रेष्ठले आगामी दिनमा पनि निरन्तर समाचार लेखिरहने बताएका छन् ।
