विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित मोरङ कारागारमा आज बिहानैदेखि तनाव भएको छ। कारागारमा खानतलासी गरिएपछि केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारीको विरोधमा ‘बी’ ब्लकका कैदीबन्दीले प्रदर्शन र नाराबाजी गरेका हुन्।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवाललगायत सुरक्षा अधिकारीको उपस्थितिमा बिहान ४ः३० बजेदेखि कारागारमा खानतलासी सुरु गरिएको थियो। लागूऔषधलगायत अवैध वस्तु कारागारभित्र रहेको सूचनाका आधारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी खानतलासी गरिएको प्रहरीले जनाएको छ।
एसपी कटवालले भने खानतलासीलाई नियमित प्रक्रियाका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार कारागारमा समय–समयमा गरिँदै आएको सर्चकै निरन्तरता हो। आज बिहानसम्मको खानतलासीमा कुनै अवैध वस्तु फेला नपरेको प्रहरीले जनाएको छ।
खानतलासीसँगै केही कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी गरिएको थियो। सुरक्षा स्रोतका अनुसार आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट रहेका १५ जनाभन्दा बढी कैदीबन्दीलाई अन्यत्र सार्ने तयारी थियो।
स्थानान्तरणको विरोधमा ‘बी’ ब्लकका कैदीबन्दीले भित्रै प्रदर्शन गर्दै आगोसमेत बालेका छन्। दमकलको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ। आन्दोलनरत कैदीबन्दीले सुरक्षाकर्मीलाई ब्लकभित्र प्रवेश गर्न नदिई भित्रबाटै तालाबन्दी गरेर नाराबाजी गरिरहेका छन्।
सुरक्षा स्रोतका अनुसार गिरीसँग निकट रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी रोकिएको छैन। आवश्यक परे बल प्रयोग गरेर भए पनि ‘बी’ ब्लकमा प्रवेश गरी उनीहरूलाई स्थानान्तरण गर्ने तयारीमा सुरक्षा निकाय रहेको स्रोतको दाबी छ।
कारागारमा कैदीबन्दीले पाउने लत्ताकपडाबापतको सरकारी भत्ता कब्जा गरेको आरोपमा गिरीलाई यसअघि असार १३ गते पक्राउ गरिएको थियो। आपराधिक विश्वासघात तथा ठगीसम्बन्धी विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय मोरङले छुट्टाछुट्टै अनुसन्धान गरेका थिए।
जाहेरवालासँग सहमति भएपछि आपराधिक विश्वासघात तथा ठगीसम्बन्धी मुद्दामा गिरी छुटिसकेका छन्। यद्यपि कारागारसँग जोडिएको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गिरीले कारागारभित्र रहेका कैदीबन्दीको सहयोगमा आफ्नो पहुँच विस्तार गर्ने गरेको खुलेको सुरक्षा स्रोतको दाबी छ। यही आधारमा उनीसँग निकट रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्न खोजिएको स्रोतले जनाएको छ।
खानतलासी र स्थानान्तरणको विषयलाई लिएर उत्पन्न तनावका कारण मोरङ कारागारको ‘बी’ ब्लकमा अहिले पनि अवस्था तनावपूर्ण रहेको छ।
