काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे निष्पक्ष छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजीपी)लाई जिम्मेवारीबाट अलग गर्न माग गरेका छन्।
संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले आरोप लागेका व्यक्तिलाई पदमै राखेर उनीहरूमाथि छानबिन गर्नु उचित नहुने बताए।
‘तत्काल छानबिन समिति बनाउनुपर्छ, आरोपित मानिसहरूलाई जिम्मेवारीबाट बाहिर राख्नुपर्छ र निष्पक्ष ढङ्गले छानबिन गरिनुपर्छ,’ उनले भने।
प्रहरीका लागि खरिद हुने जुत्ता, मोजा, कपडा तथा अन्य सामग्रीमा अनियमितता हुँदा त्यसको प्रत्यक्ष असर प्रहरी तथा म्यादी प्रहरीमाथि पर्ने सुनारले बताए। निर्वाचनका क्रममा ठूलो संख्यामा म्यादी प्रहरी भर्ती हुने उल्लेख गर्दै उनले उनीहरूको पारिश्रमिक र सुविधासँग जोडिएको विषयमा समेत अनियमितता गर्न नहुने बताए।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा जिल्लाका कमाण्डर र लेखापालहरूले गर्ने खरिद प्रक्रियामा पारदर्शिता नभएको तथा प्रहरी सेवाबाट अवकाशप्राप्त लेखापालहरू नै ठेकेदार बनेर प्रहरीभित्र सक्रिय रहेको दाबीसमेत उनले गरे।
जिल्लास्तरमा सामग्री खरिद गर्दा बहालवाला तथा पूर्वप्रहरी कर्मचारीसँग ठेकेदारको कुनै सम्बन्ध वा स्वार्थ जोडिएको छ कि छैन भन्ने विषयमा समेत छानबिन हुनुपर्ने उनको भनाइ छ।
प्रहरीको खरिदसम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा परेको विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिँदै सुनारले तत्कालीन गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकलाई समेत जिम्मेवारीबाट अलग गरेर अनुसन्धान गर्नुपर्ने माग गरे।
‘आरोप लागेका व्यक्ति पदमै बसेर आफूविरुद्धको छानबिन प्रभावित पार्न सक्छ। बर्दी लगाएर बसेर “ल, मलाई छानबिन गर” भन्न पाइँदैन,’ उनले भने।
आवश्यक परे सम्बन्धित व्यक्तिका मोबाइल तथा अन्य प्रमाण नियन्त्रणमा लिएर फौजदारी कसुरको कोणबाट समेत अनुसन्धान गर्नुपर्ने सुनारको माग छ।
