भैरहवा । कानुनले नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा रोक लगाए पनि भैरहवाका अधिकांश क्यासिनोमा नेपालीहरू खुलेयाम प्रवेश गरी जुवा खेलिरहेको पाइएको छ।
केही क्यासिनोमा नेपालीको उपस्थिति न्यून देखिए पनि अधिकांशमा नेपाली जुवाडेको उल्लेख्य उपस्थिति देखिएको स्रोत बताउँछ। केही क्यासिनोमा जुवा खेल्नेहरूमध्ये झण्डै ५० प्रतिशतसम्म नेपाली रहेको बताइएको छ।
रूपन्देहीसँगै कपिलवस्तु, नवलपरासी, पाल्पा, दाङ, बाँकेलगायतका जिल्लाबाट नेपाली जुवाडे भैरहवाका क्यासिनो पुग्ने गरेको स्रोतको दाबी छ। काठमाडौंलगायतका ठाउँबाट समेत नियमित रूपमा खेलाडी आउने गरेको बताइएको छ।
नेपालीलाई प्रवेश निषेध भए पनि खुलेयाम क्यासिनोभित्र नेपालीको भीड देखिनुले रुपन्देही प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीय तथा क्यासिनोसम्बद्ध स्रोतहरूले क्यासिनो सञ्चालक र विभिन्न तहका प्रहरीबीच ‘सेटिङ’ हुने आरोप लगाएका छन्।
केही क्यासिनोको आन्तरिक खर्च विवरणमा जिल्ला प्रहरी प्रमुखका लागि मासिक ३ लाख, डीएसपीका लागि ७५ हजार, स्थानीय प्रहरी निरीक्षकका लागि ५० हजार तथा प्रदेश प्रहरीतर्फ १ लाख रुपैयाँसम्म रकम छुट्याइएको उल्लेख रहेको स्रोतको दाबी छ।
यसैबीच नेपाली नागरिक क्यासिनोमा प्रवेश गरिरहेको सूचना पाएपछि लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्र खत्रीले प्रवेश रोक्न तथा आवश्यक परे छापा हान्न निर्देशन दिएको स्रोतको दाबी छ। तर निर्देशनपछि पनि अवस्था खासै परिवर्तन नभएको स्थानीयहरूको भनाइ छ।
रूपन्देही हेर्ने प्रदेश प्रहरीको घुमुवा टोलीमाथि समेत नेपाली प्रवेश भइरहेको थाहा हुँदाहुँदै प्रभावकारी कारबाही नगरेको आरोप लागेको छ। लामो समयदेखि एउटै क्षेत्रमा कार्यरत टोलीमाथि प्रश्न उठ्दा पनि सम्बन्धित निकायबाट प्रभावकारी छानबिन नभएको भन्दै प्रहरीको आन्तरिक अनुगमन प्रणालीमाथि समेत प्रश्न उठेको छ।
अब मुख्य प्रश्न यही हो- भैरहवाका क्यासिनोमा नेपालीलाई ‘नो इन्ट्री’ किन छैन? कानुनविपरीत नेपाली प्रवेश गराइएको हो भने त्यसको जिम्मेवारी कसले लिने?
सम्बन्धित क्यासिनो सञ्चालक, प्रहरी तथा नियमनकारी निकायले उठेका आरोपबारे स्पष्ट पार्दै निष्पक्ष छानबिन गर्नुपर्ने देखिन्छ।
