काठमाडौं । सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना, भ्रामक सूचना, ‘डिपफेक’, ‘हेट स्पिच’ तथा साइबर ठगीका घटना बढ्दै गएपछि नेपाल प्रहरीले प्रविधिमैत्री अनुसन्धान र निगरानी प्रणालीलाई प्राथमिकता दिएको छ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोगबाट सामाजिक सद्भाव खल्बलिन सक्ने तथा शान्ति सुरक्षामै चुनौती उत्पन्न हुन सक्ने भएकाले प्रहरी यसप्रति सचेत रहेको बताएका छन्।
उनका अनुसार यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरीको जनशक्ति र प्रविधि दुवैलाई थप सक्षम बनाइँदैछ। सामाजिक सञ्जालको निगरानी र अनुसन्धानका लागि साइबर ब्युरोलाई थप साधनस्रोत सम्पन्न बनाउने तथा प्रविधिमा दक्ष जनशक्ति परिचालन गर्ने तयारी छ।
प्रहरीले ‘एडभान्स्ड एनालिटिक्स सेल’ मार्फत सामाजिक सञ्जालमा भइरहेका गतिविधिको निगरानीलाई समेत प्रभावकारी बनाउँदै लगेको जनाएको छ।
आईजीपी कार्कीका अनुसार सामाजिक सञ्जालमा फैलाइने मिथ्या तथा भ्रामक सूचना, डिपफेक र घृणाजन्य अभिव्यक्तिले सामाजिक सद्भावमा असर पार्न सक्ने भएकाले त्यस्ता सामग्रीको स्रोत पहिचान गरी कानुनी दायरामा ल्याउने कार्यलाई प्रहरीले प्राथमिकता दिएको छ। यसका लागि सम्बन्धित सेवा प्रदायक, सरकारी निकाय तथा अन्य सरोकारवाला संस्थासँग समन्वय भइरहेको छ।
साइबर ठगी नियन्त्रणमा नयाँ संयन्त्र
पछिल्लो समय अनलाइन ठगी पनि प्रहरीका लागि प्रमुख चुनौती बन्दै गएको छ। अनलाइन लोटरी परेको भन्दै ठगी गर्ने, केवाइसी अद्यावधिकका नाममा व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, ओटीपी लिएर रकम निकाल्ने तथा विभिन्न प्रलोभन देखाएर आर्थिक ठगी गर्ने घटना बढिरहेका छन्।
यस्ता अपराध नियन्त्रणका लागि प्रहरीले नागरिक सचेतनासँगै अनुसन्धान र कारबाहीलाई अघि बढाएको छ।
प्रहरीले आफूले चिठ्ठा नै नहालेको अवस्थामा चिठ्ठा परेको भन्दै आउने सन्देशमा विश्वास नगर्न, अपरिचित व्यक्तिलाई ओटीपी नदिन तथा बैंक वा वित्तीय संस्थाको नाममा फोन आएको भरमा व्यक्तिगत विवरण उपलब्ध नगराउन आग्रह गर्दै आएको छ।
साइबर ठगी नियन्त्रणका लागि ‘एन्टी साइबर स्क्याम सेन्टर’ स्थापना गर्ने अवधारणासमेत अघि बढाइएको आईजीपी कार्कीले बताएका छन्।
प्रस्तावित संयन्त्रमा बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक, प्रहरी र दूरसञ्चार क्षेत्रका प्रतिनिधिबीच समन्वय गरिनेछ। यसबाट नागरिक ठगीमा परेको थाहा पाउनेबित्तिकै तत्काल प्रतिक्रिया जनाउन सकिने अपेक्षा गरिएको छ।
ठगी भएको सूचना तत्काल प्रहरीलाई दिन मिल्ने
प्रहरीले ‘इमिडिएट फाइनान्सियल फ्रड रिपोर्टिङ सिस्टम’ अर्थात् ई–रिपोर्टिङ प्रणाली विकास गर्ने तयारीसमेत गरेको छ।
यस प्रणालीमार्फत नागरिकले आफू ठगीमा परेको सूचना तत्काल प्रहरीलाई उपलब्ध गराउन सक्नेछन्। सूचना प्राप्त हुनासाथ सम्बन्धित बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र प्रहरीबीच समन्वय गरी आर्थिक क्षति न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।
आईजीपी कार्कीका अनुसार ठगी भएको तत्काल जानकारी प्राप्त गर्न सके रकम रोक्ने तथा अपराधी पहिचान गर्ने सम्भावना बढ्ने भएकाले यस्तो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ।
सर्भिलेन्स क्यामेरामा एआई जोडिँदै
प्रहरीले सार्वजनिक स्थलमा जडान गरिएका सर्भिलेन्स क्यामेरालाई समेत क्रमशः कृत्रिम बौद्धिकता (एआई) सँग जोड्ने तयारी गरेको छ।
भीडभाड हुने स्थानमा एआईको प्रयोग गरी अनुहार पहिचानलगायतका प्रविधि प्रयोग गर्ने योजना रहेको कार्कीले बताएका छन्।
प्रहरीका अनुसार प्रविधिको विकाससँगै अपराधको स्वरूपसमेत परिवर्तन भइरहेकाले परम्परागत प्रहरी कार्यशैलीबाट मात्रै नयाँ चुनौतीको सामना गर्न कठिन हुँदै गएको छ।
अन्तर्राष्ट्रिय सहकार्यमा पनि जोड
सामाजिक सञ्जाल तथा डिजिटल सेवा प्रदायकका धेरैजसो संरचना नेपालबाहिर रहेकाले साइबर अपराध अनुसन्धानमा अन्तर्राष्ट्रिय सहकार्यलाई समेत प्रहरीले प्राथमिकता दिएको छ।
इन्टरपोल, विभिन्न मुलुकका प्रहरी तथा सम्बन्धित प्रविधि सेवा प्रदायकसँग समन्वय गरी अनुसन्धान अघि बढाउँदै आएको आईजीपी कार्कीले बताएका छन्।
प्रहरीले सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत सूचना प्राप्त हुनेबित्तिकै सत्यता जाँच नगरी पुनःप्रसारण नगर्न आग्रह गरेको छ। गलत सूचना र अफवाहले नागरिकबीच अविश्वास तथा तनाव सिर्जना गर्न सक्ने भन्दै विद्यालय तहदेखि नै डिजिटल सचेतना विस्तार गर्नुपर्ने प्रहरीको निष्कर्ष छ।
प्रविधिले अपराधको स्वरूप बदलिरहेको अवस्थामा अपराध नियन्त्रणका लागि प्रहरी पनि प्रविधिसँगै अघि बढ्ने तयारीमा देखिएको छ।
