काठमाडौं । लैनचौरस्थित गाउँबेसी थकालीमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेको अवस्थामा नेपाल प्रहरीका सई सरोज गिरीसहित १५ जना पक्राउ परेका छन्।
दरबारमार्ग प्रहरीले आइतबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट करिब १२ लाख रुपैयाँ नगद बरामद भएको प्रहरी स्रोतले जनाएको छ।
पक्राउ परेका सई गिरी हाल गौशाला प्रहरी वृत्तमा कार्यरत रहेको बताइएको छ। प्रहरीले उनको जुवा अखडा सञ्चालकहरूसँगको सम्बन्ध र घटनास्थलमा उपस्थितिको कारणबारे अनुसन्धान गरिरहेको छ।
थकालीका सञ्चालक सुजन लामासहित १५ जना पक्राउ परे पनि जुवा अखडा सञ्चालक ‘कमल बुकी’ नामले चिनिने कमल ज्ञवाली भने फरार छन्। ज्ञवाली पूर्वप्रहरी कर्मचारी रहेको खुलेको छ।
सई गिरीले जुवा सञ्चालकहरूसँग मिलेमतो गरी ‘हाकिम मिलाइदिने’ भन्दै रकम लिने गरेको आरोपसमेत अनुसन्धानका क्रममा उठेको प्रहरी स्रोतको दाबी छ।
