ताप्लेजुङ । अन्तर्राष्ट्रिय सुरक्षा मिसनमा छनोट भएपछि ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी अढाई महिनामै जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीबाट बिदा भएका छन्।
जोशी अबको केही दिनभित्रै एक वर्षे अन्तर्राष्ट्रिय सुरक्षा मिसनका लागि सुडानको डार्फर जाने तयारीमा छन्। अन्तर्राष्ट्रिय मिसनमा मनोनयन भएपछि उनी ताप्लेजुङबाट बिदा भएका हुन्।
जोशीको बिदाइसँगै रिक्त भएको जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी अब डिएसपी कमल बजगाईंले सम्हाल्ने भएका छन्। प्रहरी प्रधान कार्यालयले ताप्लेजुङको प्रहरी प्रमुखका रूपमा बजगाईंलाई पठाउने तयारी गरेको छ।
जोशी छोटो अवधिमै जिल्लामा प्रभावकारी प्रहरी नेतृत्व प्रदान गर्ने अधिकृतका रूपमा परिचित थिए। समन्वय तथा सहकार्यमा काविल, अपराध अनुसन्धानमा निपूर्ण, जिम्मेवारीप्रति कर्तव्यनिष्ठ, सेवाग्राहीमैत्री र सरल स्वभावका जोशीले नेपाल प्रहरीभित्र असल छवि बनाएका छन्।
यसअघि डिएसपी बेदप्रसाद गौतमले करिब साढे १३ महिना ताप्लेजुङ जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए। गौतमको सरुवापछि जोशीले जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
अब जोशी अन्तर्राष्ट्रिय मिसनका लागि सुडान प्रस्थान गर्ने तयारीमा छन् भने उनको स्थानमा बजगाईंले ताप्लेजुङको सुरक्षा नेतृत्व सम्हाल्ने भएका छन्।
