काठमाडौँ । पर्साको वीरगन्जबाट प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित चार जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट सोमबार साँझ दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पर्साका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार चेकजाँचका क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ बरामद भएको हो।
पक्राउ पर्नेमा भारतको सीतामढी घर भएका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र सोही ठाउँका २६ वर्षीय सागरकुमार सर्राफ तथा पर्साको विन्दबासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता छन्।
प्रहरीका अनुसार सुरजको साथबाट १ लाख रुपैयाँ, उपेन्द्रको साथबाट १८ लाख १६ हजार रुपैयाँ, सागरकुमारको साथबाट १८ लाख ३४ हजार रुपैयाँ र राहुलकुमारको साथबाट १६ लाख रुपैयाँ बरामद भएको छ।
बरामद रकममा ५ सय र १ हजार दरका नोट रहेको प्रहरीले जनाएको छ।
उनीहरू प्रदेश २–०३–००३ प ७२१५ नम्बरको सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको एफजेड मोटरसाइकलमा सवार थिए।
पक्राउ परेका चारै जनामाथि रकमको स्रोत तथा कारोबारबारे पर्सा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
