पोखरा । बेलायतमा अथाह सम्पत्ति रहेको र नेपाल आएर सँगै जीवन बिताउने प्रलोभनमा परेकी कास्कीकी एक महिलाले अनलाइन ठगीबाट ३१ लाख रुपैयाँ गुमाएकी छन्। ठगी भएको भन्दै प्रहरीले थप रकम नपठाउन सचेत गराए पनि भावनात्मक दबाबमा परेकी उनले पुनः २२ लाख रुपैयाँ पठाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ठगीको सुरुवात फेसबुकबाट भएको थियो। बेलायतको कोड भएको ह्वाट्सएप नम्बर प्रयोग गर्ने एक व्यक्तिले आफू अविवाहित रहेको र बेलायतमा प्रशस्त सम्पत्ति रहेको भन्दै ती महिलासँग सामाजिक सञ्जालमार्फत मित्रता गाँसेका थिए।
ती व्यक्तिले बेलायतमा रहेको सम्पत्ति बेचेर नेपाल आउने, यहाँ घरजग्गा किन्ने र महिलासँगै जीवन बिताउने भन्दै विश्वास दिलाएका थिए। आफू वास्तविक व्यक्ति भएको देखाउन उनले विमानस्थलका भिडियो पठाउनुका साथै भिडियो कलसमेत गर्ने गरेका थिए।
केही समयपछि उनले आफू भारत हुँदै नेपाल आउन लागेको बताएका थिए। त्यसपछि भारतीय प्रहरीको पोसाक लगाएको तस्बिर भएको अर्को ह्वाट्सएप नम्बरबाट महिलालाई फोन आयो।
फोन गर्ने व्यक्तिले महिलालाई उनका ‘साथी’ ठूलो परिमाणको नगद तथा सम्पत्तिसहित पक्राउ परेको र उनलाई छुटाउन भन्सार तथा जरिवानाबापत रकम तिर्नुपर्ने बताए।
भावी श्रीमान् नै समस्यामा परेको विश्वासमा परेकी महिलाले पटक–पटक गरी ९ लाख रुपैयाँ पठाइन्।
तर रकम पठाएपछि उनलाई शंका लाग्यो। त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय कास्की पुगिन्। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि घटना अनलाइन ठगी भएको भन्दै थप रकम नपठाउन उनलाई स्पष्ट रूपमा सचेत गरायो।
तर ठगको प्रभावबाट उनी पूर्ण रूपमा मुक्त हुन सकिनन्।
प्रहरीको चेतावनीपछि पनि ती व्यक्तिले महिलालाई पुनः सम्पर्क गरे। ‘म अब निस्कन लागेँ, बाँकी २२ लाख रुपैयाँ दिएपछि सबै सम्पत्ति लिएर तिमीकहाँ आउँछु’ भन्दै उनले भावनात्मक दबाब सिर्जना गरे।
भावी श्रीमान् नेपाल आउँदै गरेको विश्वासमा परेकी महिलाले फेरि २२ लाख रुपैयाँ पठाइन्।
अन्ततः भारतीय प्रहरीसँगको समन्वयमा सम्बन्धित व्यक्ति अपराधमा संलग्न रहेको पुष्टि भएपछि मात्र आफू ठगीमा परेको उनले स्वीकारेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार यो घटना पछिल्लो समय बढ्दै गएको अनलाइन ठगीको एउटा प्रतिनिधिमूलक उदाहरण हो।
उनका अनुसार सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न स्वरूपमा ठगी गर्ने गिरोह सक्रिय छन्। सस्तो मूल्यमा सामान उपलब्ध गराउने भन्दै विज्ञापन राख्ने, स्क्रिन सेयर गराएर ओटीपी लिने र बैंक खाताबाट रकम निकाल्ने, साथी वा आफन्तको फेसबुक तथा ह्वाट्सएप ह्याक गरी आपतमा परेको बहानामा पैसा माग्नेलगायतका घटना भइरहेका छन्।
त्यस्तै, आकर्षक रोजगारी वा विदेश पठाइदिने भन्दै नक्कली कागजात तयार पार्ने, विभिन्न प्रक्रियाका नाममा रकम असुल्ने, बैंक तथा डिजिटल भुक्तानी सेवाका कर्मचारी बनेर केवाईसी अपडेटका लागि ओटीपी माग्ने र थोरै लगानीमा दोब्बर नाफा दिने प्रलोभन देखाएर रकम लिएपछि सम्पर्कविहीन हुने घटना पनि बढिरहेको पासवानले बताए।
‘थोरै लगानीमा धेरै नाफा वा महँगो सामान सस्तोमा पाउने आश्वासन ठगीको पहिलो संकेत हो,’ पासवानले भने।
प्रहरीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले गर्ने अस्वाभाविक प्रस्ताव तथा आर्थिक प्रलोभनमा नपर्न आग्रह गरेको छ। बैंक खाताको विवरण, पिन नम्बर तथा ओटीपी कसैलाई नदिन, शंकास्पद लिंक नखोल्न, अनधिकृत एप डाउनलोड नगर्न र कुनै पनि अनलाइन कारोबार गर्नुअघि सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता पुष्टि गर्न प्रहरीले अनुरोध गरेको छ।
त्यसैगरी, आफू वा आफन्त ठगीमा परेको आशंका लागे तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन कास्की प्रहरीले आग्रह गरेको छ।
प्रेम, रोजगारी, विदेश यात्रा वा ठूलो आर्थिक लाभको नाममा सामाजिक सञ्जालबाट आउने आकर्षक प्रस्तावलाई विश्वास गर्नुअघि एकपटक होइन, पटक–पटक प्रमाणित गर्नुपर्ने यो घटनाले देखाएको छ।
