दार्चुला । नौगाड गाउँपालिका–१ को वडा कार्यालयमा मदिरा सेवन गरी कर्मचारीहरूसँग विवाद गर्दै अश्लिल हर्कत गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नौगाड गाउँपालिका–१ ईयरकोटका रोशन ठगुन्ना रहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महतका अनुसार ठगुन्नालाई आइतबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको हो ।
प्रहरीका अनुसार वडा कार्यालयमा ठगुन्नाले अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान थालिएको हो । भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले सार्वजनिक चासोसमेत पाएको थियो ।
के भएको थियो ?
प्रहरीका अनुसार घटना गत शुक्रबारको हो । वडा कार्यालय नजिकै घर भएका ठगुन्नाले मदिरा सेवन गरेपछि आफ्नै छोरामाथि कुटपिट गरिरहेको देखेपछि वडा कार्यालयमा सामाजिक परिचालकका रूपमा कार्यरत कलावती ठगुन्नाले कुटपिट नगर्न भनेकी थिइन् ।
कलावती नाताले रोशनकी दिदीसमेत पर्ने बताइएको छ । कुटपिट नगर्न भनेपछि रोशन र कलावतीबीच विवाद भएको प्रहरीको भनाइ छ ।
त्यसपछि ठगुन्ना वडा कार्यालयभित्र प्रवेश गरेका थिए । कार्यालयभित्र पुगेपछि उनले सामाजिक परिचालक कलावती ठगुन्ना, कार्यालय सहयोगी दानसिंह ठगुन्नालगायत कर्मचारीहरूसँग विवाद गर्दै अश्लिल हर्कत गरेको प्रहरीको भनाइ छ ।
सार्वजनिक भएको भिडियोमा ठगुन्ना माथिल्लो शरीरमा लुगा नलगाएको अवस्थामा देखिन्छन् । उनले त्यसपछि तल्लो शरीरको लुगासमेत फुकालेको देखिएको बताइएको छ । कार्यालयमा उपस्थित कर्मचारीहरूसामु गरिएको उक्त हर्कतको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिर आएको हो ।
जाहेरी आएपछि थप अनुसन्धान हुने
घटना शुक्रबारको भए पनि भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्रै प्रहरीसम्म विषय पुगेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयले ठगुन्नालाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान अघि बढाएको छ ।
तर, हालसम्म उनीविरुद्ध किटानी जाहेरी भने प्राप्त नभएको प्रहरीले जनाएको छ । डीएसपी महतका अनुसार किटानी जाहेरी प्राप्त भएपछि घटनाको प्रकृति र उपलब्ध प्रमाणका आधारमा थप अनुसन्धान अघि बढाइनेछ ।
घटना मिलाउन दबाब
यसैबीच, नौगाड गाउँपालिका–१ मा भने घटनालाई लिएर विभिन्न धारणा सार्वजनिक हुन थालेका छन् । ठगुन्नाले मदिरा सेवन गरेको अवस्थामा उक्त हर्कत गरेको भन्दै घटनालाई मुद्दाको रूपमा अघि बढाउन नहुने पक्षमा समेत केही व्यक्ति रहेको बताइएको छ ।
घटनाबाट प्रभावित कर्मचारीसमेत मदिरा सेवनका कारण आफूले त्यस्तो व्यवहार गरेको हुनसक्ने भन्दै तत्काल किटानी जाहेरी दिने पक्षमा नरहेको स्रोतको दाबी छ । स्थानीय जनप्रतिनिधिसमेत घटना आपसी रूपमा मिलाउनुपर्ने पक्षमा रहेको स्रोत बताउँछ ।
यद्यपि, सार्वजनिक कार्यालयभित्र कर्मचारीहरूसामु अश्लिल हर्कत गरेको विषयमा प्रहरीले प्राप्त भिडियो, घटनास्थलको अवस्था, संलग्न व्यक्तिहरूको बयान तथा जाहेरीलगायत प्रमाणका आधारमा अनुसन्धान अघि बढाउने जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धानपछि मात्रै कानुनी कारबाहीको विषय टुंगो लाग्ने जनाएको छ ।
