धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिनामै प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले लागूऔषध नियन्त्रण, तस्करी रोकथाम, अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन र प्रहरी संगठनभित्रको सुशासनमा कडाइ गरेका छन् ।
पदभार सम्हालेलगत्तै उनले अघिल्लो नेतृत्वले गरेको ४ सय ४४ प्रहरी कर्मचारीको काज सरुवा बदर गर्दै पारदर्शिता र अनुशासनलाई प्राथमिकता दिएका थिए । यसअघि तत्कालीन डीआईजी ओमबहादुर रानाले गरेको उक्त काज सरुवामा आर्थिक चलखेल भएको आरोप लागेको थियो ।
भट्टराईको नेतृत्वमा पछिल्लो एक महिनामा लागूऔषधसम्बन्धी १ सय १४ मुद्दा दर्ता भएका छन् भने १ सय ८९ पुरुष र ७ महिला गरी १ सय ९६ जना पक्राउ परेका छन् । कैलालीको विशेष ‘स्विप अपरेशन’मा १ सय ४९ जना नियन्त्रणमा लिइएकोमा ७४ जना प्रयोगकर्ता र २८ जना कारोबारीलाई कानुनी दायरामा ल्याइएको छ ।
भन्सार छली नियन्त्रण अभियानमा १ करोड २७ लाख २३ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद गरी ९ जना पक्राउ परेका छन् । वन पैदावार, वन्यजन्तु तथा नदीजन्य स्रोतको अवैध कारोबार नियन्त्रणमा २० लाख रुपैयाँभन्दा बढीका सामग्री बरामद र १८ जना पक्राउ परेका छन् ।
फैसला कार्यान्वयनतर्फ १ सय १३ जना फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरूबाट ८८ वर्ष १० महिना ८ दिन कैद कार्यान्वयन तथा ४४ लाख ३८ हजार ५ सय ५८ रुपैयाँ जरिवाना असुली प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यस अवधिमा कैलालीमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट मृत्यु भएको घटनाका फरार भारतीय नागरिक अश्वनी कुमार सिंह, धनगढी कालिका सामुदायिक वनमा १० वर्षीय तनुज चौधरीको हत्या घटनाका फरार खेमराज कठायत र कञ्चनपुरमा श्रीमतीमाथि तातो तेल खन्याएर फरार अशोक भट्ट पक्राउ परेका छन् ।
चोरी भएको सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायका डिनको सरकारी स्कारपियोसमेत स्वरूप परिवर्तन गरिएको अवस्थामा बरामद गरिएको छ ।
ट्राफिक व्यवस्थापनमा पछिल्लो एक महिनामा ४ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरी करिब ३५ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने करिब ५ सय चालक कारबाहीमा परेका छन् ।
रात्रिकालीन रुट परमिटबिनाका विद्युतीय माइक्रोबसमा रोक लगाउनुका साथै लामो दूरीका चालकको नियमित ब्रेथलाइजर परीक्षण थालिएको छ । २ सय सार्वजनिक सवारीमा सीसीटीभी जडान, १ सय ५९ सवारीको यान्त्रिक परीक्षण, ४ सय २० सवारीको नम्बर प्लेट सुधार र ३ सय ५० सवारीबाट कालो सिसा हटाइएको छ ।
कानुन सबैका लागि समान हुने सन्देश दिँदै मुख्यमन्त्री कमलबहादुर शाहलाई समेत हेल्मेट नलगाई मोटरसाइकल चलाएको आरोपमा ५ सय रुपैयाँ जरिवाना गरिएको घटना चर्चामा रह्यो ।
संगठनभित्र गुनासो सुन्ने संयन्त्र स्थापना, भनसुनमा हुने काज सरुवा नियन्त्रण, कार्यसम्पादन अनुगमन र आन्तरिक अनुशासनमा कडाइ गरिएको छ । सीमावर्ती क्षेत्रमा लागूऔषध तथा तस्करी नियन्त्रणका लागि विशेष टोली, संवेदनशील नाकामा डग स्निफिङ, राति आकस्मिक अनुगमन, सीमा ड्युटी तथा प्रहरी युनिटको छड्के निरीक्षण र दैनिक समीक्षा बैठकलाई नियमित बनाइएको छ ।
डीआईजी भट्टराईले लामो समय एउटै स्थानमा बसेका प्रहरीलाई सरुवा गरेपछि नयाँ ठाउँमा नयाँ प्रहरी पुग्दा तस्करी नियन्त्रण र अपराध अनुसन्धानमा सहज भएको दाबी गरेका छन् ।
छोटो अवधिमै लागूऔषध, तस्करी, अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन र संगठन सुधारमा सक्रियता बढेको देखिए पनि सीमापार अपराध, संगठित तस्करी र लागूऔषध नियन्त्रण सुदूरपश्चिम प्रहरीका लागि अझै प्रमुख चुनौतीका रूपमा रहेको छ ।
