काठमाडौं । अवैध रूपमा सट्टेबाजी गराई दुई करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–१२ का ४१ वर्षीय प्रेम थापा रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई शुक्रबार अपराह्न करिब साढे ५ बजे काठमाडौं महानगरपालिका–११, भद्रकालीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार थापाको साथबाट चार थान मोबाइल फोन र एक थान ल्यापटप बरामद गरिएको छ । ती विद्युतीय उपकरणको प्रारम्भिक जाँचका क्रममा ‘वान एक्स बेट’, ‘वान एक्स बेट पार्टनर्स’ तथा ‘मोब–क्यास’ एप्लिकेसनमार्फत ठूलो रकमको कारोबार भएको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त माध्यमबाट दुई करोड ७३ लाख ४३ हजार १७२ रुपैयाँभन्दा बढीको कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले थापा अवैध सट्टेबाजीमा संलग्न भई रकमको कारोबारमा जोडिएको आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थापालाई आवश्यक अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइएको छ । प्रहरीले बरामद विद्युतीय उपकरण तथा कारोबारसम्बन्धी विवरणको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
