काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत सहायक हवल्दार अंकित सिंह सादा पोसाकका प्रहरीको रुपमा परिचालित छन्। कोशी प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) बिनोद घिमिरेले सिंहलाई सादा पोसाकको प्रहरी अर्थात घुमुवाको रुपमा परिचालन गरेका हुन् ।
कोशी प्रदेशमा घुमुवाको रुपमा कार्यरत रहेका सिंहले मधेस प्रदेशसम्म पनि आफ्नो दबदबा कायम राखेका छन्। जबकी सिंह गाँजा सेटिङको मुख्य नाइकेको रुपमा चिनिन्छन्। विशेषगरी कोशीमा उत्पादन हुने गाँजा मधेस प्रदेश हुँदै भारतसम्म पुर्याउने सञ्जालसँग उनको निकट सम्बन्ध रहेको आरोप छ।
सुरक्षा स्रोतका अनुसार सिंह महिनामा दुईदेखि तीन पटकसम्म जनकपुर र महोत्तरी पुग्ने गरेका छन्। त्यहाँ उनले गाँजा कारोबारमा संलग्न भनिएका केही व्यक्तिहरू शंकर शाह, भविसन शाह, सुजित शाह, रन्जित यादवहरुसँग भेटघाट गर्ने गरेका छन्। त्यसपछि गएर डीआईजीलाई भेट गर्ने गर्छन् ।
यसरी गाँजा कोशीबाट मधेस प्रदेशसम्म कटाउन सहयोग गर्ने अर्को पात्र हुन् जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपीको बडिगार्ड प्रहरी जवान अमित राय । जवान रायमार्फत विभिन्न स्थानमा ‘सेटिङ’ मिलाएर गाँजा कोशीबाट सप्तरी हुँदै भारतीय सीमासम्म पुर्याइने गरिएको दाबी छ।
जवान रायको दरबन्दी ताप्लेजुङ भएपनि उनी शक्तिकेन्द्रको आडमा सप्तरी नै बसिरहन सफल भएका छन्।
अंकित सिंहको नाम यसअघि पनि विवादमा आएको थियो। मधेस प्रदेशमा कार्यरत रहँदा उनी डीआईजीको घुमुवा बनेर काम गरेको विषयमा व्यापक गुनासो परेपछि प्रहरी प्रधान कार्यालयले उनलाई उजुरी छानबिन शाखामा तानेर अनुसन्धान गरेको थियो। त्यसक्रममा भेटिएका केही कमजोरीका आधारमा उनलाई पाँचथर सरुवा गरिएको बताइन्छ।
तर पाँचथर पुगेको छोटो समयमै डीआईजी घिमिरेले काज सरुवामार्फत उनलाई पुनः प्रदेश प्रहरी कार्यालयमा ल्याएर सादा पोसाकमा परिचालन गरेको स्रोतको दाबी छ। संगठनभित्रका केही प्रहरी अधिकारीहरूका अनुसार सिंहको मुख्य काम सूचना संकलनभन्दा पनि विभिन्न स्रोतबाट रकम उठाउने रहेको आरोप लाग्ने गरेको छ।
सिंहमाथि अर्को गम्भीर आरोप पनि छ। आफूलाई मन नपरेका प्रहरी कर्मचारी वा अधिकारीविरुद्ध बेनामी उजुरी हाल्ने र सामाजिक सञ्जालमा नक्कली आईडी प्रयोग गरेर अभियान चलाउने गरेको आरोप पनि लागेको छ। केही समयअघि प्रहरी महानिरीक्षकले नै फेक आईडी प्रयोग गरी भ्रम फैलाउने व्यक्तिमाथि कारबाही हुने चेतावनी दिएका थिए।
स्रोतहरूका अनुसार सिंहले हाल ३,४ वटा मोबाइल फोन प्रयोग गर्ने गरेका छन्। त्यस्तै विभिन्न व्यक्तिसँग सम्पर्क र संवादका लागि दुईवटा ल्यापटपसमेत प्रयोग गर्ने गरेको दाबी गरिएको छ। प्रहरी संगठनभित्र सामान्य दर्जाका कर्मचारीको हैसियतमा रहेका एक व्यक्तिले प्रदेशदेखि प्रदेशसम्म प्रभाव जमाउन सफल हुनु आफैंमा प्रश्नको विषय बनेको छ।
यस विषयमा डीआईजी घिमिरेले सहायक हवल्दार सिंह आफ्नो मातहतमा नै रहेको र सादा पोसाकमा नखटाइएको दावी गरे। उनले भने, ‘आईटी फिल्डतिर उसको राम्रो ज्ञान रहेछ। त्यही भएर यहाँ ल्याएर साइबर शाखामा नै राखेको छु । पहिला अर्कै प्रदेशमा थियो, पछि मैले नै यहाँ ल्याएको हुँ।’
