चितवन । कालिका नगरपालिका–स्थित श्री समीपुर माध्यमिक विद्यालयमा एसईई उत्तीर्ण तथा कक्षा ८ र ५ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको छ। विद्यालयमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप साइकल वितरण गरिएको हो।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। सो अवसरमा विद्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गरिएको थियो।
कार्यक्रममा समाजसेवी तथा युवा व्यक्तित्व रमेशजंग थापाले उत्कृष्ट विद्यार्थीहरूलाई दुई थान साइकल वितरण गर्दै शिक्षा क्षेत्रमा निरन्तर सहयोग आवश्यक रहेको बताएका थिए। उनले मेहनत, अनुशासन र लक्ष्यप्रति समर्पित हुन विद्यार्थीहरूलाई आग्रह गर्दै शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गरे।
कार्यक्रममा सहभागी वक्ताहरूले पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षाका लागि सबै पक्षको साझा भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए। नवनिर्मित विद्यालय भवनले विद्यार्थीहरूलाई थप सहज र गुणस्तरीय अध्ययन वातावरण उपलब्ध गराउने विश्वास व्यक्त गरिएको थियो।
समाजसेवी थापाले विगत पाँच वर्षदेखि कालिका नगरपालिकाका विभिन्न विद्यालयहरूमा शैक्षिक तथा सामाजिक सहयोग गर्दै आएका छन्। उनले साइकल वितरण, शैक्षिक सामग्री सहयोग तथा विपन्न विद्यार्थीलाई सहायता गर्दै शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्याइरहेका छन्।
स्थानीयवासीहरूले थापाको योगदानको प्रशंसा गर्दै यस्ता गतिविधिले विद्यार्थीहरूमा प्रेरणा, आत्मविश्वास र अध्ययनप्रतिको उत्साह बढाउने बताएका छन्।
