चितवन । सात वर्षअघि चितवनको खैरहनीस्थित नेपाल ग्याँस उद्योग गण्डकीको कम्पाउण्डभित्र एक मजदुरको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि फरार रहेका आरोपीलाई पक्राउ गर्न सफल भएपछि चितवन प्रहरीले पुरानो हत्या प्रकरणमा उल्लेखनीय सफलता हात पारेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरी इकाइहरूको संयुक्त सक्रियतामा हत्या आरोपित बारा फेटा गाउँपालिका वडा नं. ४ निवासी पुनदेव भन्ने पञ्चदेब महरा पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी सुवास भट्टका अनुसार २०७६ साल चैत २३ गते साँझ खैरहनी–९ स्थित नेपाल ग्याँस उद्योग गण्डकीको कम्पाउण्डभित्र मजदुर बस्ने कच्ची घरमा ४६ वर्षीय सखिचन महराको शव फेला परेको थियो । घटना शङ्कास्पद देखिएपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गरेको भए पनि मुख्य आरोपी फरार रहेका कारण पक्राउ गर्न सकिएको थिएन ।
प्रहरी अनुसन्धानबाट मृतकका सहकर्मी पुनदेव भन्ने पञ्चदेब महराले हत्या गरेको निष्कर्ष निकालिएको थियो । हत्या लगत्तै फरार भएका उनीविरुद्ध चितवन जिल्ला अदालतबाट २०७६ चैत २५ गते पक्राउ पुर्जी जारी भएको थियो ।
प्रहरीका अनुसार आरोपी लगातार स्थान परिवर्तन गर्दै फरार रहँदै आएका थिए । पछिल्लो समय उनी बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. १ स्थित त्रिवेणी टोल आसपास लुकिछिपी बसिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टाँडी र खैरहनीबाट संयुक्त टोली परिचालन गरिएको थियो ।
उक्त टोलीले यही जेठ ५ गते साँझ त्रिवेणी टोलबाट उनलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका महरालाई अदालतबाट म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय खैरहनीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
