कास्की । काठमाडौं पोखरा महानगरपालिकाको नयाँबजारमा सार्वजनिक स्थानमा एक आपसमा झै–झगडा गर्ने चार जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो।
बिहीबार दिउँसो कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ९ नयाँबजारस्थित सडकमा दुई जना व्यक्तिहरू एक आपसमा झै–झगडा गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त भिडियो बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाको सम्बन्धमा अनुसन्धान तथा खोजतलास तीव्र पारेको थियो।
खोजतलासकै क्रममा जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले झै–झगडामा संलग्न चार जनालाई जेठ ८ गते पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट नियन्त्रणमा लिन सफल भयो।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका ती व्यक्तिहरू सवारी साधनको हेल्परका रूपमा काम गर्ने मजदुर रहेको खुलेको छ। उनीहरूबिच खाजा खाने विषयमा सामान्य विवाद हुँदा कुटाकुट र झै–झगडा भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा तनहुँको भानु नगरपालिका- १२ घर भएका ३२ वर्षीय विजय अधिकारी, धादिङको त्रिपुरासुन्दरी नगरपालिका-२ घर भएका २२ वर्षीय राजकुमार परियार, स्याङ्जाको पुतलीबजार नगरपालिका-२ घर भएका २४ वर्षीय सुजन परियार र कास्कीको पोखरा महानगरपालिका-१३ मियापाटन घर भएका २३ वर्षीय निरज आले मगर रहेका छन्।
कास्की प्रहरीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार नियन्त्रणमा लिइएका ती चारै जनामाथि प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
