काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले उत्कृष्ट कार्यसम्पादन गरेका प्रहरी नायव महानिरीक्षक (डिआइजी)) ओम अधिकारी र वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीलाई पुरस्कृत गरेका छन् ।
काठमाडौं उपत्यकाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै दुवै प्रहरी अधिकृतलाई सम्मान गरिएको हो ।
प्रहरी स्रोतका अनुसार पछिल्लो समय उपत्यकामा सुरक्षा चुनौती बढिरहेका बेला प्रहरी संगठनले जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने अधिकृतलाई प्रोत्साहनस्वरूप सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डिआइजी अधिकारीले अपराध नियन्त्रण, सुरक्षा व्यवस्थापन तथा प्रहरी परिचालनलाई प्रभावकारी बनाउँदै उपत्यकाको सुरक्षा अवस्था मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएका छन् । मातहतका प्रहरी कर्मचारीसँग समन्वय गरी संगठनलाई परिणाममुखी ढंगले परिचालन गरेको भन्दै उनलाई पुरस्कृत गरिएको बताइएको छ ।
त्यसैगरी, काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन सक्रिय भूमिका खेलेको भन्दै एसएसपी अधिकारी सम्मानित भएका हुन् ।
एसएसपी अधिकारीले सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियम उल्लंघन गर्ने सवारीमाथि प्रभावकारी चेकजाँच अभियान सञ्चालन तथा ट्राफिक प्रहरीलाई अनुशासित र जनउत्तरदायी बनाउन नेतृत्वदायी भूमिका खेलेको प्रहरी स्रोतले जनाएको छ । उनी स्वयं सडकमा खटिएर ट्राफिक व्यवस्थापनमा सक्रिय रहने गरेका छन् ।
प्रहरी संगठनभित्र उत्कृष्ट काम गर्ने अधिकृतलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको जनाइएको छ । दुवै प्रहरी अधिकृत आफ्नो कार्यक्षमता र नेतृत्वका कारण विभिन्न निकायबाट समेत समय–समयमा सम्मानित हुँदै आएका छन् ।
