काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथली क्षेत्रमा सञ्चालन भइरहेको नक्कली ब्राण्डेड मदिरा उत्पादन केन्द्रमा सशस्त्र प्रहरीले छापा मारेको छ । छापामार कारबाहीका क्रममा चार जनालाई नियन्त्रणमा लिइएको छ भने ठूलो परिमाणमा नक्कली रक्सी तथा त्यससँग सम्बन्धित सामग्री बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त सूचनाका आधारमा विर्खबहादुर तामाङको घरमा अवैध रूपमा रेड लेबल, ब्ल्याक लेबललगायत महंगा ब्राण्डका मदिरा उत्पादन भइरहेको अवस्थामा टोलीले छापा मारेको हो ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घटनास्थलबाट मदिरा उत्पादनमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–२ का ३० वर्षीय मनोज खत्री, रामेछापकै खिम्ती क्षेत्रका २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ तथा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ का २२ वर्षीय छिदेन निमा तामाङ रहेका छन् ।
प्रहरीले उक्त स्थानबाट नक्कली मदिरा उत्पादनमा प्रयोग हुने विभिन्न केमिकल, उपकरण, राजश्व स्टिकर, होलोग्राम तथा ब्राण्डेड रक्सीका बोतलसमेत बरामद गरेको जनाएको छ । बरामद मदिराको परिमाण धेरै भएकाले यकिन विवरण संकलन गर्ने काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
