काठमाडौं । केही दिनअघि काठमाडौंको कीर्तिपुरमा भएको विपिन घिमिरे हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका एक युवकलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर क्षेत्रबाट सुजन शाहीलाई नियन्त्रणमा लिएको हो । पक्राउका क्रममा शाहीमाथि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शाही कीर्तिपुरमा भएको गुल्मीका विपिन घिमिरे हत्या घटनाका मुख्य योजनाकारमध्ये एक हुन् । घटनापछि फरार रहेका उनलाई विशेष सूचनाका आधारमा खोजी भइरहेको थियो ।
प्रहरी स्रोतका अनुसार पक्राउका क्रममा शाहीले भाग्ने प्रयास गरेपछि नियन्त्रणमा लिन गोली चलाइएको हो । गोली लागेपछि उनलाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगिएको बताइएको छ ।
घिमिरेको केही दिनअघि कीर्तिपुरमा हत्या भएको थियो । उक्त घटनाले उपत्यकाको सुरक्षा अवस्थामाथि प्रश्न उठेको बेला प्रहरीले योजनाकार भनिएका व्यक्तिलाई पक्राउ गरेको दाबी गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
