काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन्। भट्टको राजीनामा सनाखत हुने क्रममा रहेको बताइएको छ।
भट्टलाई एक हप्ताअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर सरकारलाई सहयोग गर्न निर्देशन दिएकी थिइन्। राजीनामा नदिए बर्खास्त गरेर हटाउने प्रकृया सुरु भएकोबारे पनि मन्त्री यादवले कार्यकारी निर्देशक भट्टलाई जानकारी गराएकी थिइन्।
निर्देशनपछि भट्टले एक–दुई दिन समय दिन आग्रह गरेका थिए। निर्देशन दिएको एक हप्तापछि भट्टले राजीनामा दिएका हुन्।
सरकारले यसअघि भएका सबै राजनीतिक नियुक्तीलाई खारेज गरिरहेको छ। पहिलो चरणमा करिब १५ सयलाई बर्खास्त गरेको सरकारले दोस्रो चरणमा थप ५ सय नियुक्ती खारेज गर्ने गरी सूची तयार गरेको थियो।
दोस्रो चरणमा बर्खास्त हुने कार्यकारी प्रमुखहरुको सूचीमा आयल निगमका कार्यकारी निर्देशक भट्ट पनि थिए।
उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २६ फागुन २०८० मा तीन वर्षका लागि नियुक्ती गरेको थियो। उनी कांग्रेस कोटाबाट निगममा नियुक्त भएका थिए।
