काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संसदमा नीति तथा कार्यक्रममाथि छलफल भइरहेका बेला अनुपस्थित भएपछि प्रतिनिधिसभामा चर्को विवाद भएको छ । आफ्नै सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा प्रधानमन्त्री सदनमा उपस्थित नभएपछि विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका हुन् ।
प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि छलफल सुरू हुँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएर आफू भने संसद्मा गएनन् । विपक्षी दलहरूले प्रधानमन्त्री संसद्मा आएर जवाफ दिनुपर्ने माग राख्दै विरोध जनाए ।
स्रोतका अनुसार प्रधानमन्त्री शाह सिंहदरबारमै बसेर संसद्को लाइभ प्रसारण हेरिरहेका छन् । प्रधानमन्त्री कार्यालयका कर्मचारीहरूले उनी नियमित काममै व्यस्त रहेको बताए । तर, संसद्मा गम्भीर विषयमा छलफल भइरहेका बेला प्रधानमन्त्री अनुपस्थित हुनु गैरजिम्मेवार व्यवहार भएको भन्दै आलोचना भइरहेको छ ।
प्रधानमन्त्री उपस्थित नभएपछि एमाले, कांग्रेस, राप्रपालगायत दलहरूले सदन घेरेका थिए । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले बहिष्कारसमेत गरेका थिए । विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।
