काठमाडौं । चितवनको भरतपुरमा भएको हत्या घटनामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका–१६ स्थायी घर भई हाल भरतपुर–१६ बस्दै आएका २७ वर्षीय कृष्णबहादुर खड्का रहेका छन्।
प्रहरीका अनुसार वैशाख २२ गते राति भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित एक अटो वर्कशप नजिक ३० वर्षीय आशिष खनालमाथि धारिलो हतियार प्रहार भएको थियो।
रूपन्देहीको सैनामैना नगरपालिका–६ घर भएका खनाल हाल भरतपुरमै बस्दै आएका थिए। घटनापछि गम्भीर अवस्थामा उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै फरार भएका खड्कालाई चितवन प्रहरीले कास्की प्रहरीको सहयोगमा पोखरा महानगरपालिका–८ सभागृहचोकस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो। प्रहरीले आरोपीलाई लुक्न सहयोग गरेको आरोपमा अर्का एक युवक सम्राट गुरुङलाई पनि पक्राउ गरेको जनाएको छ।
अनुसन्धानका क्रममा मृतक र आरोपीबीच लामो समयदेखिको चिनजान रहेको खुलेको छ। दुवै जना केही समय एउटै अटो वर्कशपमा काम गर्दै आएका थिए। आर्थिक लेनदेन र मोबाइल फोनको विषयलाई लिएर पछिल्लो समय उनीहरूबीच विवाद बढ्दै गएको प्रहरीको भनाइ छ।
प्रहरी स्रोतका अनुसार घटनाभन्दा केही दिनअघि मोबाइलको विषयमा उनीहरूबीच चर्काचर्की भएको थियो। सामाजिक सञ्जाल र फोनमार्फत एकअर्कालाई धम्की दिने तथा गालीगलौज गर्ने क्रमसमेत चलेको अनुसन्धानमा देखिएको छ।
घटनाको राति बुद्धचोक क्षेत्रमा फेरि विवाद भएपछि झगडा भएको र सोही क्रममा खड्काले धारिलो हतियार प्रहार गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
