काठमाडौं । नेपाल प्रहरीमा नियमित सरुवा रोकिँदा संगठनभित्र अन्योल र असन्तुष्टि बढ्दै गएको छ। गत वर्ष सरुवा भएका र अवधि पुगेका प्रहरी निरीक्षक (इन्स्पेक्टर)देखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मको सरुवा रोकिएको हो ।
विशेषगरी एसएसपी सरुवामा काठमाडौं, ललितपुर र उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व सम्हाल्न वरिष्ठ प्रहरी अधिकृतहरूबीच तीव्र दौडधुप सुरु भएको छ। काठमाडौं नपाए ललितपुर, ललितपुर पनि नभए ट्राफिक नेतृत्व सम्हाल्ने रणनीतिमा एसएसपीहरू सक्रिय देखिएका छन्।
प्रहरी नियमावली २०७१ अनुसार अधिकृतहरूको सरुवा हरेक एक वर्षमा हुनुपर्ने व्यवस्था छ।
गत ९ वैशाखमा तत्कालीन गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले गृह मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आएका छन्। गृहमन्त्री नहुँदा प्रहरी संगठनभित्रको ठूलो सरुवा प्रक्रिया नै रोकिएको हो।
प्रहरी प्रधान कार्यालयले भने इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवाको तयारी लगभग अन्तिम चरणमा पुर्याइसकेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सरुवा प्रक्रिया जतिसक्दो छिटो टुंग्याउने पक्षमा रहे पनि प्रधानमन्त्रीको निर्णय ढिलाइका कारण प्रक्रिया अघि बढ्न नसकेको स्रोत बताउँछ।
इन्स्पेक्टर र डीएसपी सरुवा पनि रोकियो
प्रहरी प्रधान कार्यालयले २०८२ वैशाख १० गते ३११ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको थियो। कार्यअवधि पूरा गरेका ती इन्स्पेक्टरमध्ये चैत २ गते २४ जनालाई मात्रै काज सरुवा गरिएको छ भने बाँकीको सरुवा रोकिएको छ।
उही दिन १२१ जना नायब उपरीक्षक (डीएसपी) को पनि सरुवा गरिएको थियो। उनीहरूको एक वर्षे कार्यकाल पूरा भइसके पनि नयाँ सरुवा हुन सकेको छैन। धेरै इन्स्पेक्टर र डीएसपी अहिले पनि इन्चार्जको जिम्मेवारीमै छन्।
सरुवाको सूची तयार भए पनि प्रधानमन्त्री शाहबाट ‘ग्रिन सिग्नल’ नआउँदा प्रक्रिया रोकिएको प्रहरी स्रोत बताउँछ।
एसपी सरुवासमेत रोकिँदा जिल्लामा अन्योल
गत वर्ष वैशाख १५ गते ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको थियो। उनीहरूको एक वर्षे अवधि पूरा भइसकेको छ। त्यसपछि साउन २७ गते ९ जना र असोज २ गते थप ४८ जना एसपीको सरुवा निकालिएको थियो। तीमध्ये अधिकांश अहिले पनि विभिन्न जिल्ला र युनिटको कमाण्डमा कार्यरत छन्।
बाग्लुङ, सिन्धुली, काभ्रे, सर्लाही, महोत्तरी, सुर्खेत, चितवन, पश्चिम नवलपरासी, कपिलवस्तु, कञ्चनपुर तथा सुदूरपश्चिम ट्राफिकमा कार्यरत एसपीहरूको अवधि पूरा भइसकेको छ। पाल्पा पठाइएका एसपी पवन भट्टराईलाई भने जेनजी आन्दोलनपछि काठमाडौं तानिएको थियो।
स्रोतका अनुसार आईजीपी कार्कीले करिब दुई साताअघि नै एसपी सरुवाको प्रस्तावित सूची गृह मन्त्रालयमार्फत प्रधानमन्त्री तथा गृहमन्त्री शाहसमक्ष बुझाइसकेका छन्। तर, सूचीमाथि हालसम्म निर्णय हुन सकेको छैन।
काठमाडौंको कमाण्डका लागि एसएसपीबीच तीव्र प्रतिस्पर्धा
सरुवाको सबैभन्दा ठूलो चासो अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्वलाई लिएर देखिएको छ। काठमाडौंमा अहिले एसएसपी रमेश थापा, ललितपुरमा होविन्द्र बोगटी र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी नवराज अधिकारी कार्यरत छन्।
काठमाडौं र ललितपुर प्रहरी प्रमुखको कार्यकाल ८ महिना पूरा भइसकेको छ। यसअघि काठमाडौं परिसर प्रमुखहरू ६ महिनामै परिवर्तन हुने गरेका थिए । तर, यसपटक काठमाडौं र ललितपुरको नेतृत्व लामो समय टिकेको छ।
काठमाडौं परिसरको नेतृत्व लिन आधा दर्जन एसएसपीहरू सक्रिय छन्। काठमाडौं नपाए ललितपुर, ललितपुर पनि नभए ट्राफिक नेतृत्व सम्हाल्ने रणनीतिमा उनीहरू रहेको प्रहरी स्रोत बताउँछ।
काठमाडौंको कमाण्डका लागि एसएसपीहरु दिलिप घिमिरे, दयानिधी ज्ञवाली, सुरेश काफ्ले र अजय केसी मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।
घिमिरे संगठनमा इमान्दार अधिकृतका रूपमा चिनिए पनि कार्यक्षमतामाथि प्रश्न उठ्ने गरेको चर्चा छ। उनी २०८२ पुस २३ गते मात्र एसएसपीमा बढुवा भएका हुन्। उनीभन्दा एक वर्षअघि बढुवा भएका एसएसपीहरू प्रतिस्पर्धामा अगाडि देखिन्छन्।
एसएसपी ज्ञवाली प्रहरी प्रधान कार्यालयको कार्य विभागमा कार्यरत छन्। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी रणनीति तय गर्न गठित विश्लेषण महाशाखाको नेतृत्व उनले गरेका थिए। संगठनभित्र उनी कमाण्डमा अब्बल क्षमतामा अधिकृत मानिन्छन्। उनी २०८२ साउनमा एसएसपीमा बढुवा भएका हुन्।
त्यस्तै एसएसपी सुरेश काफ्ले अहिले विशेष ब्यूरोमा कार्यरत छन्। जेनजी आन्दोलनका क्रममा आगजनी सुरु भएपछि न्यायाधीशहरूलाई सुरक्षित स्थानमा सार्ने कार्यमा उनले नेतृत्वदायी भूमिका खेलेका थिए। त्यसबेला उनी सर्वोच्च अदालत सुरक्षा युनिटमा थिए। काफ्ले २०८२ पुस २३ गते एसएसपीमा बढुवा भएका हुन्।
सबैभन्दा सिनियर मानिएका एसएसपी अजय केसी पनि काठमाडौं कमाण्डमा जान इच्छुक छन्। अपराध अनुसन्धान क्षेत्रमा काम गर्न रुचाउने केसीले उपत्यका अपराध अनुसन्धान कार्यालय तत्काल खाली नहुने देखेपछि काठमाडौं परिसरमा चासो देखाएका हुन्।
उनीहरुसँगै एसएसपीहरु विर बहादुर बुढामगर, सुबास बोहरा, प्रविण धितालले पनि काठमाडौं जानको लागि दौडधुप गरिरहेका छन् ।
ट्राफिक र ललितपुर पनि रोजाइमा
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीको पनि एक वर्ष पुग्न लागेको छ। काठमाडौं परिसर नपाउने अवस्था आए ट्राफिक नेतृत्व लिन एसएसपी बोहरा, बुढा र धितालसँगै केसी, काफ्ले, ज्ञवाली र घिमिरे पनि सक्रिय रहेको स्रोत बताउँछ।
ललितपुर प्रहरी परिसर नेतृत्वका लागि पनि यिनैमध्येबाट एकजनाको नाम अगाडि सारिने सम्भावना रहेको बताइन्छ।
ब्यूरोदेखि तालिम केन्द्रसम्म हेरफेर
सरुवा सूचीमा लागूऔषध नियन्त्रण ब्यूरो, मानव बेचबिखन अनुसन्धान ब्यूरोलगायतका युनिट प्रमुख पनि परिवर्तनको तयारीमा छन्। उनीहरूको पनि एक वर्षे अवधि पूरा भइसकेको छ।
त्यस्तै चितवन र नेपालगञ्जबाहेक अधिकांश तालिम केन्द्रका एसएसपी परिवर्तन गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ। कमाण्डो जर्गाहका एसएसपी अनुपशमशेर जबरा तथा प्रहरी एकेडेमी अन्तर्गत विद्यालयमा कार्यरत एसएसपी रञ्जु सिग्देलको पनि सरुवा हुने तयारी छ।
नेपाल प्रहरीका दुई प्रदेश कार्यालय बाहेक अधिकांश प्रदेश नेतृत्वसमेत परिवर्तनको तयारीमा रहेको स्रोत बताउँछ।
लामो समयदेखि रोकिएको सरुवाले अहिले प्रहरी संगठनभित्र असन्तुष्टि मात्र होइन, शक्ति केन्द्रको सक्रियता पनि बढाएको छ। कमाण्डभन्दा पहुँच बलियो हुने पुरानै प्रवृत्ति फेरि हावी हुन थालेको चर्चा प्रहरी वृत्तमा व्यापक छ।
