पोखरा । जिल्ला प्रहरी कार्यालयमा उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मानित भएका एक प्रहरी हवलदार नै घुससहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार साँझ रंगेहात नियन्त्रणमा लिएको हो।
२०८१ सालको पुस महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै कास्की प्रहरीले उनलाई सम्मान गरेको थियो। उनी अपराध अनुसन्धान शाखामा कार्यरत रहँदै सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरूको अनुसन्धानमा सक्रिय भूमिका खेलेका कारण पुरस्कृत भएका थिए।
तर, सोही प्रहरी हवलदार लागूऔषधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस डिल गरिरहेको अवस्थामा पक्राउ परेका हुन्। स्रोतका अनुसार उनले उक्त मुद्दा मिलाइदिने भन्दै ३ लाख रुपैयाँको बार्गेनिङ गरेका थिए भने पहिलो किस्तास्वरूप ५० हजार रुपैयाँ लिँदै गर्दा अख्तियारको टोलीले रंगेहात समातेको हो।
हाल उनी जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत रहेका थिए। सेवाग्राहीहरूका अनुसार उनले लामो समयदेखि फाइल लुकाइदिने, मुद्दा प्रभावित पार्ने र रकमका लागि दबाब दिने जस्ता गतिविधि गर्दै आएका थिए।
उनका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, मुख्यमन्त्री कार्यालय तथा प्रधानमन्त्री कार्यालयमा समेत उजुरी परेको बताइएको छ।
उनी दरबन्दी अनुसार अन्यत्र कार्यरत हुनुपर्ने भए पनि पहुँचका आधारमा कास्कीमा काज सरुवा भएर मुद्दा फाँटमै लामो समयदेखि कार्यरत रहेको आरोपसमेत लागेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय पोखराले जनाएको छ।
