काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृहसचिव, नेपाल प्रहरीका आईजीपी तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारीसहित उच्च सुरक्षा अधिकारीहरूसँग करिब ५ घन्टा लामो गोप्य छलफल गरेका छन्।
साँझ ६ बजेबाट सुरु भएको बैठक राति करिब ११ बजेसम्म चलेको थियो। तर, छलफलको विषयबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
बैठकपछि सञ्चारकर्मीहरूले ‘ठूला माछा समात्न लागिएको हो?’ भन्ने प्रश्न गर्दा गृहमन्त्री गुरुङले ‘पछि भनौँला’ भन्दै टार्ने प्रतिक्रिया दिएका थिए। यसले बैठकप्रति थप रहस्य र चासो बढाएको छ।
यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटी पनि गृहमन्त्रालय पुगेका थिए। तर गृहमन्त्री व्यस्त भएकाले भेट हुन सकेन।
बुर्लाकोटीका अनुसार गोरखाका एक व्यक्तिको समस्याबारे काठमाडौँका सीडीओसँग सम्पर्क गर्दा उनी गृहमन्त्रालयमै रहेको जानकारी पाएपछि आफू त्यहाँ पुगेका थिए।
पछिल्लो समय बढ्दो सुरक्षा संवेदनशीलता बीच भएको यो लामो तथा गोप्य बैठकले सम्भावित ठूला निर्णय वा कारबाहीको संकेत गरेको भन्दै राजनीतिक तथा सुरक्षा वृत्तमा चासो बढेको छ।
