काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज कुमार केसीले स्कुपखबर डटकममा प्रकाशित केही समाचारप्रति आपत्ति जनाउँदै खण्डन दिएका छन्।
उनले मिति २०८२ चैत १२, १३ र २२ गते प्रकाशित ‘सके आईजीपी हटाउने, नयाँ आयुक्त हुने एआईजी केसीको दाउ’, ‘रवि–बालेलाई प्रभाव पार्न ‘डिल’! केसी–शर्मा कनेक्सनबाट सिंहको मुद्दा दबाइयो, आईजीपी फाल्ने खेल!’ तथा ‘सीआईबीभित्र सिन्डिकेट: जघन्य अपराध ओझेलमा, आर्थिक मुद्दामा केसीको ध्यान!’ शीर्षकका समाचारहरू तथ्यहीन, भ्रामक तथा आधारविहीन रहेको दाबी गरेका छन्।
केसीले उक्त समाचारहरूले आफ्नो व्यक्तिगत तथा पेशागत प्रतिष्ठामा आघात पुर्याएको उल्लेख गर्दै समाचारमा लगाइएका आरोपहरू निराधार रहेको बताएका छन्। उनले कुनै पनि राजनीतिक वा अन्य प्रभाव प्रयोग गरी पद प्राप्ति वा अनुसन्धानमा हस्तक्षेप गरेको आरोप अस्वीकार गरेका छन्।
त्यस्तै, ‘फेक रेस्क्यु’ प्रकरणमा पनि आफूलाई जोड्ने प्रयास गरिएको भन्दै त्यसमा कुनै प्रमाण नभएको र अनुसन्धानलाई प्रभावित पार्ने गरी समाचार सम्प्रेषण गरिएको आरोप लगाएका छन्।
उनले यस्ता समाचारहरू प्रकाशन गर्दा पत्रकार आचारसंहिताको पालना नगरिएको दाबी गर्दै सम्बन्धित सामग्री सच्याउन तथा यथार्थपरक सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन्।
यस विषयमा स्कुपखबरले भने समाचार सार्वजनिक चासोका विषयमा आधारित रहेर विभिन्न स्रोतका आधारमा प्रकाशन गरिएको जनाएको छ। साथै, सम्बन्धित पक्षको धारणा समेट्दै आवश्यक परे सुधार तथा खण्डन प्रकाशन गर्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
