काठमाडौं । मधेस प्रदेश प्रहरीभित्र पछिल्ला दिनहरूमा देखिएको विवाद र आन्तरिक कारबाहीका घटनाले संगठनमा ठूलो हलचल ल्याएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ सई सागर शमशेर जवराको निलम्बन सिफारिस प्रहरी प्रधान कार्यालयले हालका लागि रोकिदिएको छ। आन्तरिक छानबिनबारे थप अध्ययन आवश्यक देखिएपछि निलम्बन तत्काल अघि नबढाइएको स्रोतले जनाएको छ।
त्यस्तै, मधेस प्रदेशमा ‘घुमुवा’का रूपमा कार्यरत रहेका वरिष्ठ सई गोपाल थापा मगर र सई जयलाल यादवलाई भने प्रहरी प्रधान कार्यालयले काठमाडौँस्थित हेडक्वार्टरमा तानेको छ।
उनीहरूलाई सम्बन्धित गतिविधि र कार्यशैलीबारे विस्तृत छानबिनका लागि केन्द्रमा झिकाइएको बुझिएको छ।
प्रहरी संगठनभित्र पछिल्ला दिनमा बढ्दो आन्तरिक छानबिन, सरुवा र कारबाहीको श्रृंखलाले मधेस प्रदेश प्रहरी संरचनामा नयाँ बहस सुरु भएको छ। आन्तरिक अनुशासन, जिम्मेवारी र कार्यसम्पादन मूल्यांकनबारे पनि प्रश्न उठ्न थालेका छन्।
