काठमाडौं । प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख रहेका नायब महानिरीक्षक (डिआईजी)हरूलाई फिर्ता बोलाउने तयारी गरेको छ। पछिल्ला विवाद र कार्यसम्पादनप्रति असन्तुष्टिसँगै नेतृत्व हेरफेरको तयारी अघि बढाइएको स्रोतले जनाएको छ।
मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी गोविन्द थपलियाको नाम जोडिएको आर्थिक कारोबारसम्बन्धी अडियो सार्वजनिक भएपछि उक्त प्रदेशमा विवाद चर्किएको छ।
अडियोमा व्यापारी राजीव महासेठले अन्य व्यवसायीसँग रकम संकलन गरी प्रहरी नेतृत्वसँग सम्बन्धित व्यक्तिहरूलाई दिएको दाबी गरिएको छ। यस घटनापछि डिआईजी थपलिया नैतिक प्रश्नको घेरामा परेका छन्।
गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले यस विषयलाई गम्भीर रूपमा लिएर थपलियालाई फिर्ता बोलाई नयाँ डिआईजी पठाउने तयारी गरेको बताइएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी ओम रानाप्रति पनि प्रधान कार्यालय सन्तुष्ट नरहेको स्रोतको भनाइ छ। कमजोर कमाण्ड र बढ्दो आर्थिक अपराधका घटनाका कारण त्यहाँको प्रहरी प्रशासनसमेत विवादित बन्दै गएको मूल्यांकन गरिएको छ। त्यसैले रानालाई पनि फिर्ता बोलाउने तयारी भएको छ।
मधेस र सुदूरपश्चिमका दुई डिआईजी फिर्ता भएसँगै अन्य प्रदेशका केही उच्च प्रहरी अधिकारीहरूको समेत सरुवा वा हेरफेर हुन सक्ने सम्भावना देखिएको छ।
स्रोतका अनुसार उनीहरुको ठाउँमा डिआईजीहरु सानुराम भट्टराई, ओम अधिकारी, केदार खनाल र विश्व अधिकारीको नाम चर्चामा रहेको छ।
