काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाहले आफू अनपेक्षित रूपमा प्रहरी महानिरीक्षक र पछि संविधानसभा सदस्य बनेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफ्नो जीवनका महत्वपूर्ण मोडहरू ‘नियति, समय र परिस्थितिको खेल’ भएको उल्लेख गरेका हुन्।
उनका अनुसार सुडान काण्डपछि बनेको सरकारमा झलनाथ खनाल प्रधानमन्त्री र कृष्ण बहादुर महरा गृहमन्त्री भएका बेला २०६८ जेठमा आफू अचानक प्रहरी महानिरीक्षक नियुक्त भएका थिए।
यसअघि २०६५ मै बरियतामा पहिलो भए पनि पुष्पकमल दाहाल प्रधानमन्त्री र वामदेव गौतम गृहमन्त्री हुँदा आफू प्रहरी महानिरीक्षक बन्न नसकेको उनले बताएका छन्।
अवकाश पाएपछि शाहका अनुसार २०७० सालमा नारायणकाजी श्रेष्ठले फोन गरेर समानुपातिक सूचीमा बस्न प्रस्ताव गरेका थिए। त्यसपछि पुष्पकमल दाहाल र बाबुराम भट्टराईले पनि संविधान निर्माणका लागि आफूलाई समावेश हुन आग्रह गरेका थिए।
‘राजनीति गर्ने सोच नभए पनि संविधान निर्माणका लागि विभिन्न क्षेत्रका व्यक्तिहरू आवश्यक भएकाले मलाई प्रस्ताव गरिएको थियो,’ उनले उल्लेख गरेका छन्।
छोटो समयमै निर्णय लिनुपरेपछि आफू माओवादीको समानुपातिक सूचीमा बसेको र पछि दोस्रो संविधानसभा निर्वाचन २०७०मार्फत संविधानसभा सदस्य बनेको उनले बताएका छन्।
उनले आफ्नो नाम सूचीमा परेपछि अन्य दलहरू अचम्मित भएको र माओवादी कार्यकर्ताहरू खुसी भएको स्मरण गरेका छन्। चुनाव प्रचारमा भने आफू सहभागी नभएको उनले स्पष्ट पारेका छन्।
संविधानसभा सदस्य बनेपछि केही व्यक्तिहरूले पैसाको प्रभावमा पद पाएको आरोप लगाएको उल्लेख गर्दै उनले ती आरोपहरू आधारहीन भएको बताएका छन्।
उनका अनुसार संविधानसभा सदस्य बन्नु राजनीतिक रूपमा ठूलो अवसर भए पनि आफूलाई ३० वर्ष सेवा गरेको नेपाल प्रहरीको पूर्व प्रमुखको रूपमा चिनिनु नै बढी गर्वको विषय हो। ‘पूर्व सांसदभन्दा ‘नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक’ भनेर चिनिनु मलाई अझै प्रिय लाग्छ,’ उनले भनेका छन्।
शाहले अन्त्यमा आफू संविधानसभा सदस्य किन र कसरी बने भन्ने विषयमा रहेका भ्रम हटाउन यथार्थ सार्वजनिक गरेको बताएका छन्।
उनको फेसबुक स्ट्याटस जस्ताको तस्तै
पत्याउनुस/नपत्याउनुस-
—————————
सुडान काण्ड चर्किएपछि झलनाथ खनाल प्रधानमंत्री र कृष्ण वहादुर महरा गृहमंत्री भएको समयमा २०६८को जेष्ठ महिनामा अचानक म प्रहरी महानिरीक्षक(IGP)मा नियूक्त भएको थिंए। २०६५मा पहिलो वरियतामा हुंदाहुंदै पनि म IGP हुन सकिन। त्यतिबेला प्रचण्ड प्रधानमंत्री र वामदेव गृहमंत्री हुनुहुन्थ्यो। यसरी हुनु पर्ने समयमा नभएर नहुनु पर्ने समयमा म IGP भएं। त्यसैले, मलाई अक्सर लाग्छ, नियतीको खेल अचम्मको हुन्छ । कर्म गर्दैमा सबै पाइन्छ नै भन्ने निश्चित हुंदैन, भाग्य र समयले पनि साथ दिनु पर्छ । तर, यसो भन्दै गर्दा कर्म गर्नबाट भाग्न भने हुंदैन ।
२०७०को आश्विन महिना १७ वा १८ गते हुनु पर्छ, ठिक संग याद भएन। पूर्व AIG रवी श्रेष्ठ, पूर्व DIG शेर वहादुर शाह र म हामी ३ जना प्रहरी प्रधान कार्यालयमा प्रहरी दिवस मनाएर एउटै गाडीमा घरतिर फर्किदै थियौ। त्यो बर्ष आश्विन मसान्तमा मध्य दशै परेको कारणबाट प्रहरी दिवस चॉडै मनाइएको थियो।
माईतिघर पुगेका थियौं, पूर्व गृहमंत्री नारायणकाजी श्रेष्ठको फोन आयो। फोन उठाउने वित्तिकै भन्नु भयो, “तपाई हाम्रो समानुपातिकमा बस्नु पर्यो।” त्यो दिन निर्वाचन आयोगमा दोश्रो संविधानसभाको समानुपातिक सूची बुझाउने दिन रहेछ। मैले भने, “सर, मेरो त राजनीति गर्ने सोच छैन।” छोटो कुराकानी पछि उहांले प्रचण्डलाई फोन दिनु भयो। प्रचण्डजी ले पनि “बस्नुस्न शाहजी, राजनीति गर्न होईन, संविधान बनाउन विभिन्न क्षेत्रको मान्छेहरु समेट्ने क्रममा तपाईलाई पनि भनिएको हो।” मैले भने, “खै सर, यस बिषयमा मैले अहिले सम्म सोचेकै छैन।” त्यसपछि उहांले बावुराम भट्टराईलाई फोन थमाउनु भयो। वावुरामजी ले पनि, “बस्नुस्न शाहजी, तपाईलाई पार्टी प्रवेश गराउन खोजेको होईन, यो सामान्य संसद पनि होईन, संविधान बनाउन विभिन्न क्षेत्रको बिज्ञ आवश्यक हुन्छ, त्यसैले तपाईलाई अनुरोध गरिएको हो, अरु धेरै कुरा सोच्नै पर्दैन।”
IGP को धेरै कार्यकाल वावुराम भट्टराई प्रधानमंत्री हुंदा बितेको थियो । उहांकै कार्यकालमा नेपाल प्रहरीले पाउने राशनभत्तामा उल्लेख्य बृध्दी भएको थियो। उहॉलाई पनि मैले त्यही उत्तर दोहोर्याउदै, “खै सर, म बाटोमा छु, कसैसंग पनि सल्लाहा नगरी अहिलेनै म निर्णय लिन सक्दिन।” उहॉले भन्नु भयो, “ठिकै छ, घरमा पुगेर खबर गर्नु होला।”
यि सबै कुरा सुनि रहेका रवी श्रेष्ठले केही भन्नु भएन। तर, शेर वहादुर शाहबाट भने समानुपातिक सूचिमा नबस्ने नै सल्लाहा पाएको थिंए। म आफू भने त्यो समयको सबैभन्दा ठूलो दलको शिर्ष ३ ब्यक्तित्वले त्यसरी अनुरोध गरिएपछि बडो असमंजसमा परेको महशुश गरेको थिंए।
घरमा पुग्दा श्रीमती पनि वाहिर भएकोले छोटो समयमा अरु कसैसंग राम्रोसंग सल्लाहा गर्न पनि पाइएन। केही समयपछि उतैबाट फोन आइ हाल्यो, नारायणकाजीले भन्नु भयो, “के सोच्नु भयो त, शाहजी?” सिधै नाई भन्न नपरोस भनेर, “खै सर, कति सिट आउछ आउछ, अहिले बसेर पछि परिएन भने के गर्ने?” नारायणकाजीले फोन प्रचण्डलाई दिनु भयो, यि सबै कुराहरु सुनि रहनु भएका प्रचण्डले, “शाह जी, हाम्रो ५ सिट त आउला नि ? ५ सिट मात्र आएपनि तपाई पर्नु हुन्छ, ल मैले फोन राखे।” भन्नु भयो ।
त्यसपछि सॉझमा “पूर्व IGP पनि माओवादीको समानुपतिक सूचिमा” भनेर मिडियामा आइ हाल्यो। त्यो बेलाको संवाद record नभएकोले केही शब्दहरु तलमाथी भएको हुन सक्छ। तर, म दोश्रो संविधानसभाको सदस्य बन्नुको मूल सार चाही त्यही थियो।
मेरो नाम समानुपातिक सूचिमा परेपछि कांग्रेस/एमाले आश्चर्य चकित थिए भने, माओवादीहरु खुसी देखिन्थे । चुनाव प्रचार/प्रसारमा म कतै गइन। जन्मिएको जिल्ला धादिंग र हाल बसेको भक्तपुर जिल्लाको समेत कुनैपनि प्रचार/प्रसार कार्यमा सहभागी भइन ।
चुनाव सकिएपछि जब म संविधानसभा सदस्य भए हेमन्त प्रकाश वलीले “माओवादी आन्दोलन दबाउनेलाई नै माओवादी संविधानसभा सदस्य बनाइयो” भने। धादिंगका राम वहादुर भंडारी र रातोपाटीका ओम शर्मा लगायतले “नेतृत्वलाई पैसा बुझाएर संविधानसभा सदस्य भएको” भने। उहॉहरु भित्री कुरो नबुझिकनै आफ्नै शिर्ष नेतृत्वको बदनाम गर्न तर्फ लाग्नु भयो। तिनैजनालाई उहॉहरुको भाग मैले खाइदियो भनेर लागेको हुनु पर्छ। अर्थात, म नभएको भए आफु हुने थिए भनेर उहॉहरु प्रत्येकलाई लागेको हुन सक्छ । एक अर्थमा त्यो सोचाई पनि ठिकै हो कि जस्तो लाग्छ। बर्षौ त्याग गरेकोले नपाउने, अनि हामी जस्तोले पाउने ।
मर्यादाक्रममा IGP भन्दा संविधानसभा सदस्य वा सांसद धेरै माथि छ। राजनीति गर्ने मानिसको निम्ति यो एउटा ठूलै अवसर पनि हो । तर, मेरो निम्ति त्यो कुनै ठूलो अवसर थिएन र आज पनि मलाई “संविधानसभा सदस्य” वा “पूर्व सांसद” भन्दा ३० वर्ष अनवरत सेवा गरेको एउटा अनुशासित संगठनको “नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक” भनि संवोधन गरेकोमा गर्वको अनुभूति हुनुको साथै मिठो पनि लाग्छ।
म माओवादी दलको तर्फबाट संसद बनेकोमा आफन्त, ईष्टमित्र, शुभचिन्तकहरुबाट आलोचित पनि हुनु पर्यो। हाम्रो जस्तो परपिडक र विभाजित समाजमा अरुले के सोच्दछन भन्ने बिषय मेरो जिम्मेवारी भित्र पर्दैन । कुनै दलको तर्फबाट संविधानसभा सदस्य भएर मैले ठिक गरे वा बेठिक गरे, जे गरेपनि मैले आफ्नै निम्ति गरे। तर, म संविधानसभा सदस्य किन र कसरी भए भन्ने संवन्धमा कसैलाई केही भ्रम भए, त्यसलाई चिर्नको निम्ति मात्र यथार्थ कुरा राख्ने प्रयाश गरेको हुं।🙏🙏
बॉकी फेरी कुनै समय….
