काठमाडौं । मधेस प्रदेश अन्तर्गत बारा जिल्लाको ईलाका प्रहरी कार्यालय (ईप्रका) सिम्रौनगढमा तस्करी गतिविधि मौलाएको गम्भीर आरोप सार्वजनिक भएको छ। स्थानीय स्रोतका अनुसार, कार्यालय प्रमुख प्रहरी निरीक्षक किसुन्देव साह (केडी)को मिलेमतोमा ठूलो मात्रामा अवैध कारोबार सञ्चालन भइरहेको हो।
प्रहरीको मुख्य दायित्व अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नु भएपनि, निरीक्षक साहले त्यसको विपरीत सिमानाकादेखि भित्री क्षेत्रमा रहेका अवैध घरेलु मदिरा भट्टी सञ्चालन गर्ने तथा मदिरा बिक्री वितरण गर्ने व्यवसायीहरूसँग नियमित आर्थिक असुली गरिरहेको आरोप छ।
स्रोतका अनुसार, ईप्रका अन्तर्गत पर्ने पथालवा घाट, पिपरपाती, बैरिया, बेलदारी, खज्जानी र कोचोर्वा प्रहरी चौकीका इन्चार्जहरूसँग समन्वय गरी निरीक्षक साहले जिल्ला प्रहरी कार्यालयसम्म रकम पुर्याउने गरेको दाबी गरिएको छ। नाम नखुलाउने सर्तमा एक स्थानीय व्यवसायीले यसबारे पुष्टि गरेका छन्।
त्यसैगरी, सिम्रौनगढ नाकाबाट ‘भोला’ र ‘दिपक’ समूहले दैनिक ५–७ वटा मोटरसाइकलमार्फत कपडा तथा चिनियाँ स्याउ तस्करी गर्ने गरेको आरोप छ। ‘सन्दीप’ समूहले तयारी कुखुरा र लत्ताकपडा १०–१२ मोटरसाइकलमार्फत ओसारपसार गर्ने छुट पाएको बताइएको छ।
अमरपुर नाकाबाट दिपकको समूहले कपडा, बैरिया नाकाबाट प्रमोद, राजु, उपेन्द्रलगायतले धानको बीउ र मल तस्करी गरिरहेको स्रोतको दाबी छ। त्यस्तै, कवलपुर घाटबाट राजकुमार र अखलेशको समूहले ट्र्याक्टरमार्फत धान तस्करी गर्दै आएको बताइएको छ।
यसैबीच, विभिन्न नाकाबाट अन्य अवैध गतिविधि पनि बढ्दै गएको बताइएको छ। पथालवा घाटबाट कपडा, बैरियाबाट कुखुराका चल्ला, कोचोर्वाबाट कपडा तथा चल्ला तस्करी भइरहेको जनाइएको छ। साथै, रामनगर, खज्जानी र पथालवा घाट हुँदै ठूलो परिमाणमा गाँजा तस्करी भइरहेको स्थानीयले बताएका छन्।
देशमा पछिल्लो समय सरकार परिवर्तन भई प्रधानमन्त्री र गृहमन्त्री फेरिए पनि सिम्रौनगढ क्षेत्रमा सुरक्षा व्यवस्थामा कुनै सुधार नभएको स्थानीयको गुनासो छ।
यस विषयमा प्रतिक्रिया लिन जिल्ला प्रहरी कार्यालय बारा प्रमुख एसपी नरेन्द्र कुँवरलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।
