काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, तस्करी तथा गुण्डागर्दी नियन्त्रणमा खरो रूपमा उत्रिन देशभरका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत आयोजित समसामयिक विषयसम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै आईजीपी कार्कीले अपराध नियन्त्रणमा कुनै पनि किसिमको ढिलासुस्ती नगरी कानुनी दायरामा ल्याउने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।
उनले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि, तस्करी तथा प्राकृतिक स्रोतको अवैध दोहनमा संलग्न व्यक्तिहरूलाई कडाइका साथ नियन्त्रण गरी कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिए। साथै, नागरिकलाई केन्द्रमा राखेर छिटो, छरितो र पारदर्शी सेवा प्रवाह गर्न पनि उनले जोड दिए।
आईजीपी कार्कीले प्रहरी कार्यालयहरूमा बिचौलियाको प्रभाव अन्त्य गर्दै कानुनसम्मत र सेवाग्राहीमैत्री सेवा दिनुपर्ने बताए। सेवासम्बन्धी प्रगति विवरण एसएमएसमार्फत सेवाग्राहीलाई जानकारी गराउने व्यवस्था मिलाउन तथा प्रत्येक कार्यालयमा नागरिक सहजकर्ता राख्न पनि उनले निर्देशन दिए।
अपराध अनुसन्धानलाई बस्तुनिष्ठ र पारदर्शी बनाउनुपर्ने उल्लेख गर्दै उनले प्रहरी कर्मचारीहरूलाई उच्च व्यावसायिकता, अनुशासन, निष्ठा र इमान्दारितासहित जिम्मेवारी निर्वाह गर्न आग्रह गरे। आफ्नो कार्यक्षेत्रमा अपराध हुन नदिन आवश्यक सुरक्षा योजना तथा रणनीति तयार गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्नेमा उनले जोड दिए।
सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा विपद् जोखिम न्यूनीकरणमा विशेष सतर्कता अपनाउनुपर्ने उनले बताए। सम्भावित विपद् व्यवस्थापनका लागि पूर्वतयारी र पूर्वअभ्यासलाई प्राथमिकतामा राख्न पनि उनले निर्देशन दिए।
भीड व्यवस्थापनका क्रममा विगतका कमजोरी सुधार गर्दै बल प्रयोगको सिद्धान्तअनुसार प्रशिक्षण र तयारीलाई सुदृढ गर्नुपर्ने उनले बताए। साथै, सामाजिक सञ्जालको प्रयोग र सेवा प्रवाहका क्रममा उच्च व्यावसायिकता कायम राख्न प्रहरी कर्मचारीहरूलाई सचेत गराए।
कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले समेत समसामयिक विषयमा निर्देशन दिएका थिए।
भर्चुअल रूपमा आयोजित उक्त कार्यक्रममा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायत देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
