देशको गृह प्रशासन अहिले एक रोचक संयोग र महत्वपूर्ण अवसरको संगममा उभिएको छ। गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठ दुवै गोरखा जिल्लाबाट गृह मन्त्रालयको नेतृत्वमा छन्।
मन्त्रीपछि गृहको जिम्मेवारी गृहसचिवको हातमा हुन्छ। एउटै भौगोलिक पृष्ठभूमिबाट आएका यी दुई प्रमुख व्यक्तित्वको सहकार्यले प्रशासनिक समन्वय र कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
तर, विषय केवल ‘गोरखाली जोडी’ मा सीमित छैन। मुख्य प्रश्न हो, के यो गृह नेतृत्वले मुलुकको सुरक्षा र सुशासनमा देखिने परिवर्तन ल्याउन सक्छ? विगतमा गृह प्रशासनमाथि बारम्बार उठ्ने गुनासा, ढिलो निर्णय प्रक्रिया, कमजोर सेवा प्रवाह र समन्वयको अभाव अझै पूर्ण रूपमा अन्त्य भइसकेका छैनन्। त्यसैले अहिलेको नेतृत्वमाथि अपेक्षा स्वाभाविक रूपमा उच्च छ।
११ पुसमा बसेको तत्कालिन सुशीला कार्की नेतृत्वको मन्त्रीपरिषद बैठकले ७ जना सचिवहरुको सरुवा गर्दा श्रेष्ठको गृहमा भएको ह
थियो भने गुरुङ बालेन्द्र शाह नेतृत्वको सरकारमा चैतमा गृहमन्त्री भएका हुन्।
गृहमन्त्री नीतिगत नेतृत्व गर्ने राजनीतिक प्रमुख हुन्। देशको आन्तरिक सुरक्षा, शान्ति व्यवस्था र समग्र गृह प्रशासनको दिशा तय गर्ने जिम्मेवारी उनकै काँधमा हुन्छ।
अर्कोतर्फ, गृहसचिव प्रशासनिक प्रमुखका रूपमा ती नीतिहरूलाई कार्यान्वयनमा उतार्ने, सुरक्षा निकायहरूसँग समन्वय गर्ने र मन्त्रालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारीमा छन्। यी दुई पदबीचको सुदृढ सहकार्यले मात्र परिणाम दिने स्पष्ट छ।
गोरखाली पहिचानलाई साहस, अनुशासन र कर्तव्यनिष्ठासँग जोडेर हेरिन्छ। तर अब त्यो पहिचानलाई व्यवहारमा प्रमाणित गर्ने समय आएको छ। प्रहरी संगठनको व्यावसायिकता अभिवृद्धि, अपराध नियन्त्रणमा प्रविधिको प्रयोग, विपद् व्यवस्थापनमा तत्परता र नागरिकमैत्री सेवा प्रवाह- यी सबै क्षेत्रमा सुधार देखिनु अपरिहार्य छ।
सुशासन केवल नारामा सीमित हुनु हुँदैन। पारदर्शिता, जवाफदेहिता र छरितो सेवा प्रवाहमार्फत नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिवर्तन नै वास्तविक उपलब्धि हो। यदि अहिलेको गृह नेतृत्वले यी क्षेत्रमा ठोस उपलब्धि दिन सकेन भने ‘गोरखाली जोडी’ भन्ने चर्चा केवल संयोगमै सीमित रहनेछ।
अन्ततः, यो नेतृत्वका लागि अवसरसँगै परीक्षा पनि हो। क्षेत्रीय पहिचानभन्दा माथि उठेर राष्ट्रिय जिम्मेवारीलाई केन्द्रमा राख्दै परिणाममुखी काम गर्न सके गृह प्रशासनले नयाँ मानक स्थापित गर्न सक्छ। अन्यथा, अपेक्षाहरू फेरि निराशामा बदलिन समय लाग्ने छैन।
लेखक: सुजन पन्त
(गोरखाकै पन्त लामो समयदेखि सुरक्षा क्षेत्र (security beat) मा सक्रिय रूपमा कलम चलाउँदै आएका छन्।)
