काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीले थोरै सीट जिते पनि आफ्नो मुद्दाले जित हासिल गरेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशका उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको पहिचान तथा अधिकार स्थापित हुनु आफ्नो राजनीतिक आन्दोलनको उपलब्धि भएको बताए।
उनले भने, ‘पार्टीले थोरै सीट ल्याए पनि जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौता, संविधानसभा र गणतन्त्र निर्माणसम्म आइपुग्दा उत्पीडित समुदायको पहिचान र अधिकार स्थापित भएको छ। जहाँबाट जो–जो निर्वाचित भए पनि मलाई गर्व लाग्छ। यो हाम्रै बलिदान, त्याग र तपस्याको परिणाम हो।’
वर्तमान संसदमा पूर्वप्रधानमन्त्रीहरूमध्ये आफू मात्रै प्रतिनिधि सभामा वैधानिक रूपमा रहेको दाबी पनि गरे।
उनले थपे, ‘यो आफैंमा चुनौती पनि हो र अवसर पनि हो। सरकारले राम्रो काम गरोस् भन्ने हाम्रो चाहना छ। जहाँ राम्रो हुन्छ, त्यहाँ हाम्रो सहयोग रहन्छ र कमजोरी देखिएमा रचनात्मक आलोचना गर्छौं।’
उनले आफ्नो पार्टी रचनात्मक र सृजनात्मक ढंगले अगाडि बढ्ने बताए।
