काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्टमाथि राज्यका निकायले कडाइ बढाएका छन्। अध्यागमन विभागले उनको पासपोर्ट रोक्का गर्दै विदेश आवतजावतमा प्रतिबन्ध लगाएको छ भने उनलाई कालोसूचीमा समेत राखिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा भट्टलाई कालोसूचीमा राखिएको हो। सोही आधारमा अध्यागमनले उनको पासपोर्ट निष्क्रिय बनाएको जनाएको छ।
यससँगै अब उनी विदेश जान नपाउने भएका छन्, र विदेशबाट नेपाल फर्किए तत्कालै पक्राउ पर्ने अवस्था रहने स्रोतको भनाइ छ। उनी केही समययता सम्पर्कविहीन रहेको र पक्राउ पुर्जी जारी गर्ने तयारीसमेत भइरहेको बताइएको छ।
अनुसन्धान निकायका अनुसार भट्टसँग सम्बन्धित कम्पनी र शंकर ग्रुपबीच भएका शंकास्पद आर्थिक कारोबार पुष्टि भइसकेको छ। आवश्यक प्रमाण संकलन सम्पन्न भइसकेकाले छिट्टै मुद्दा दायर गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।
भट्टको राजनीतिक पहुँच र प्रभावबारे पनि विभिन्न कोणबाट अनुसन्धान भइरहेको स्रोत बताउँछ। सत्तामा जो आए पनि उच्च तहसम्म पहुँच बनाएर नीतिगत चलखेल गर्ने क्षमताका रूपमा चिनिएका भट्ट पछिल्लो समय वर्तमान सरकारसँग समेत नजिकिन खोजिरहेका थिए। तर सोही क्रममा उनलाई कालोसूचीमा राख्ने निर्णय भएको बुझिएको छ।
हालका गृहमन्त्री सुधन गुरुङसँग पनि भट्टको पुरानो सम्बन्ध रहेको चर्चा छ। गुरुङसँग सम्बद्ध ‘हामी नेपाल’ संस्थालाई भट्ट र उनका व्यावसायिक साझेदारहरूले विगत एक दशकदेखि सहयोग गर्दै आएको विवरण सार्वजनिक स्रोतमा उल्लेख छ। उक्त सम्बन्धकै आधारमा अनुसन्धान प्रभावित पार्ने प्रयास भएको आशंका पनि गरिएको छ।
यसैबीच, भट्टको पहुँच पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र शेरबहादुर देउवासम्म पनि थियो। विभिन्न राजनीतिक गतिविधिमा उनले आर्थिक सहयोग गरेको विषयमा पनि थप अनुसन्धान हुन सक्ने देखिएको छ।
प्रहरी ठेक्कापट्टा र अन्य आर्थिक कारोबारमा समेत प्रभाव जमाउँदै आएका भट्टविरुद्ध अहिले बहुआयामिक अनुसन्धान अघि बढाइएको छ। सम्बन्धित निकायहरूले उनको गतिविधिमाथि नजिकबाट निगरानी गरिरहेका छन्।
भुल सुधार:
यस समाचारसँग प्रकाशित तस्बिर गलत व्यक्तिसँग सम्बन्धित रहेको पाइएकाले सच्याइएको छ। उक्त त्रुटिप्रति क्षमाप्रार्थी छौं।
