काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानोभर्याङस्थित यातायात कार्यालय परिसरबाट सेवाग्राहीलाई बिलबुक नवीकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
आज चैत १७ गते दिउँसो १२:१५ बजे खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. १,२२,००० (एक लाख बाइस हजार) र ५३ थान सवारी दर्ता किताब (बिलबुक) सहित नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछाप उमाकुण्ड गाउँपालिका–४ का ३९ वर्षीय विज्ञान राई, काठमाडौं रानिवनका ३६ वर्षीय विमल तामाङ, रामेछाप खाँडादेवी गाउँपालिका–७ का ३५ वर्षीय रमेश कार्की, धादिङ नीलकण्ठ नगरपालिका–५ की ३६ वर्षीया कल्पना लम्साल तथा नुवाकोट बेलकोटगढी नगरपालिका–१२ का ३९ वर्षीय उद्धव खनाल रहेका छन्।
उनीहरूले सेवाग्राहीलाई छिटो काम गरिदिने प्रलोभन देखाई गैरकानुनी रूपमा रकम असुल्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
