रौतहट । रौतहटको गढिमाई नगरपालिका–१ समनपुर बजारस्थित इलाका प्रहरी कार्यालय (ईप्रका) को नयाँ भवन निर्माण ५४ वर्षपछि सुरु भएको छ। लामो समयदेखि जिर्ण अवस्थामा रहेको भवनको सट्टा अब आधुनिक सुविधा सहितको नयाँ संरचना बन्न लागेको हो।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यको पहलमा गढिमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले ५१ लाख रुपैयाँ विनियोजन गरेपछि निर्माण कार्य अघि बढाइएको हो।
सोमबार आयोजित एक विशेष समारोहबीच वडा नम्बर १ का अध्यक्ष दिपेन्द्र श्रेष्ठ र वडा नम्बर २ का अध्यक्ष रामपुकार यादवले ब्राह्मणमार्फत हिन्दु परम्परा अनुसार पूजा–पाठ गरी ८ कोठे भवनको शिलान्यास गरेका छन्।
नयाँ भवन निर्माणपछि त्यहाँ कार्यरत प्रहरीलाई बस्न सहज हुनुका साथै सेवा प्रवाहमा पनि सुधार आउने विश्वास गरिएको छ। डीएसपी आचार्यका अनुसार चालु आर्थिक वर्षभित्रै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यसअघि २०२९ सालमा तत्कालीन प्रहरी संगठन प्रमुख आईजीपी खडगजित बरालले उक्त कार्यालय भवन उद्घाटन गरेका थिए। तर समयसँगै भवन पूर्ण रूपमा जिर्ण भइसकेको थियो। छत फुटेर पानी चुहिने, भित्ताहरू चर्किने जस्ता समस्याका कारण प्रहरीलाई त्यहाँ बस्नसमेत जोखिमपूर्ण अवस्था सिर्जना भएको थियो।
यस्तो अवस्था हुँदाहुँदै पनि प्रहरीले सोही जिर्ण भवनबाट नागरिकलाई सुरक्षा तथा सेवा प्रदान गर्दै आएको थियो। प्रजातन्त्र स्थापना पछि जिल्लाका अधिकांश प्रहरी कार्यालयका भवनहरू केन्द्रीय बजेटबाट निर्माण भइसके पनि समनपुर र कटहरियामा भने जग्गा विवादका कारण निर्माण हुन सकेको थिएन।
डीएसपी आचार्यले समनपुरस्थित भवन अत्यन्त जिर्ण भई २४सै घण्टा जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै नगरपालिकासँग सहयोग मागेपछि आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरिएको जानकारी दिए।
नागरिकको सुरक्षा र सेवा प्रवाहमा खटिने प्रहरीका लागि भवन निर्माणमा सहयोग गरेको भन्दै उनले गढिमाई नगरपालिकाप्रति कृतज्ञता व्यक्त गरेका छन्।
