काठमाडौं । मधेस प्रदेशका आठवटै जिल्लाका सीमा नाकाबाट पछिल्लो समय तस्करी व्यापक रूपमा मौलाएको छ। सीमावर्ती क्षेत्रका बासिन्दा, व्यापारी तथा सुरक्षा स्रोतहरूका अनुसार भारतबाट चिनी, दाल, चामल, कपडा, मोटरपार्ट्स, कस्मेटिक्स, सुर्तीजन्य पदार्थलगायत दैनिक उपभोग्य सामग्री भन्सार छलेर नेपाल भित्र्याइँदैछ भने नेपालबाट मदिरा, चिनियाँ स्याउ, गिट्टी–बालुवासमेत पारि पठाउने क्रम तीव्र बनेको छ।
तस्करी बढ्नुको मुख्य कारणका रूपमा प्रदेश प्रहरी कार्यालयबाट ‘सूचना संकलन’को नाममा खटाइएका घुमुवा (सादा पोशाकका प्रहरी) लाई लिइएको छ। स्रोतका अनुसार डिआइजी र जिल्लाका एसपीहरूबीच मिलेमतोमै घुमुवाहरू परिचालन हुने गरेका छन्। उनीहरूले सीमा नाकामा पुगेर ‘लाइन क्लियर’ संकेत दिएपछि तस्करहरूले निर्वाध रूपमा सामान ओसारपसार गर्ने गरेका छन्।
सीमा नाकामा कार्यरत एक प्रहरी अधिकृतका अनुसार माथिल्लो तहको दबाबकै कारण आफूहरू तस्करी रोक्न नसक्ने अवस्थामा पुगेका छन्। उनले भने, ‘डिआइजी गोविन्द थपलियाको नाम लिएर आएपछि बाध्य भएर राति तस्करीका सामान बोकेको गाडी पास गरिदिनुपर्यो।’ उनका अनुसार यस्तो अवस्था मधेसका धेरैजसो नाकामा देखिएको छ।
बारा, महोत्तरी, रौतहट, सिराहा, सप्तरी र सर्लाही लगायत जिल्लामा एसपी र डिआइजीबीच राम्रो सम्बन्ध रहेको र मिलेरै रकम असुली भइरहेको छ। दुवै तहबाट घुमुवालाई परिचालन गरी नाकैपिच्छे रकम उठाउने र तस्करीलाई सहजीकरण गर्ने ‘सिस्टम’ नै बसेको सीमावासीहरू बताउँछन्। घुमुवाको कमाण्ड वरिष्ठ सई गोपाल थापा मगरले गरेका छन्।
सप्तरीको बेल्ही, छिन्नमस्ता, पातो, सिराहाको माडर, ठाढी, बरियारपट्टी, बाराको सिमरौनगढ लगायत नाकाहरू अहिले तस्करीका मुख्य ‘हटस्पट’ बनेको छ। यी नाकाबाट रातको समयमा मोटरसाइकल, टेम्पो, ट्र्याक्टर, मिनी ट्रक र पिकअपमार्फत सामान ओसारपसार हुने गरेको छ। सीमादेखि सहरसम्म सुरक्षित रूपमा सामान पुर्याउन घुमुवा स्वयं संलग्न रहने र बाटोभर ‘लाइन मिलाउने’ काम हुने गरेको दाबी गरिएको छ।
यता धनुषाका जटही र औरही नाकाबाट पनि व्यापक तस्करी भइरहेको स्रोतको दाबी छ। यहाँ तस्करी नियन्त्रण गर्न खोज्दा एसपी र प्रदेश प्रहरी कार्यालयबीच नै भनाभन भएको बताइन्छ। स्रोतका अनुसार डिआइजी पक्षबाट नाका खुलाउन दबाब आएपछि धनुषाका एसपीले असहमति जनाएका थिए।
तस्करीका सामान रोक्न खोज्दा प्रदेश प्रहरी कार्यालयबाटै दबाब आएको भन्दै एसपीले यो विषय प्रहरी प्रधान कार्यालयसम्म जानकारी गराएको दाबी गरिएको छ।
त्यस्तै पर्सा जिल्लामा भने अवस्था केही फरक देखिएको स्रोत बताउँछ। यहाँका एसपीले स्पष्ट अडान लिँदै ‘प्रमाण पुगेपछि कारबाही गर्नु, नत्र हस्तक्षेप गर्न नआउनु’ भनेर घुमुवालाई चुनौती दिएका कारण उनीहरू खुलेर काम गर्न नसकेको बताइन्छ। त्यसपछि घुमुवाहरू पर्साका नाकामा सक्रिय रूपमा टेक्न नसकेको र तस्करी नियन्त्रणमा केही कडाइ देखिएको स्रोतको दाबी छ।
सीमावर्ती क्षेत्रका बासिन्दाहरूका अनुसार तस्करी अहिले ‘ओपन सेक्रेट’ जस्तै बनिसकेको छ। सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुँदाहुँदै पनि सामान वारपार हुनु सामान्यजस्तै भएको उनीहरू बताउँछन्। ‘माथिबाटै लाइन क्लियर हुन्छ, त्यसपछि कसैले रोक्दैन,’ एक स्थानीयले भने।
यता, व्यापारीहरू भने तस्करीका कारण मारमा परेका छन्। वैधानिक रूपमा भन्सार तिरेर ल्याइएका सामान महंगा पर्ने र तस्करीका सामान सस्तोमा बजारमा उपलब्ध हुने भएकाले बिक्री घटेको उनीहरूको गुनासो छ। ‘यो हाम्रो मात्र होइन, मधेसका सबै व्यापारीको साझा समस्या हो,’ एक व्यवसायीले बताए।
प्रदेश प्रहरी कार्यालयले भने तस्करी नियन्त्रणका लागि प्रयास भइरहेको दाबी गर्दै आरोपहरू अस्वीकार गरेको छ। तर, सीमावासी र स्थानीय व्यवसायीहरू भने सुरक्षा निकायकै संरक्षणबिना यति ठूलो मात्रामा तस्करी सम्भव नहुने बताउँछन्। उनीहरूका अनुसार अहिले मधेसका धेरैजसो नाकामा तस्करकै ‘राज’ चलिरहेको छ।
