काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा गठित सरकारले राजनीतिक नेता तथा उच्चपदस्थ व्यक्तिहरुमाथि अनुसन्धान केन्द्रीत गरेपछि राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। केही व्यक्तिहरू देश छाड्न थालेको दाबीसमेत गरिएको छ।
यसैबीच, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो भागेर भारत पुगेको दाबी एक उच्च प्रहरी अधिकारीले गरेका छन्। ती प्रहरीकाअनुसार उनीमाथि छानबिनको प्रक्रिया अघि बढ्न लागेसँगै महतो सुरक्षित स्थानको खोजीमा भारत गएको हुनसक्ने अनुमान गरिएको छ।
महतोको नागरिकता विवाद छ । यस्तै उनीमाथि सम्पत्ति शुद्धीकरणमा समेत सरकारले अनुसन्धान गर्नसक्ने बताइएको छ।
पछिल्लो २० वर्ष महतो सधैं सत्ता र शक्तिमा थिए । जसले गर्दा उनले अकुत सम्पत्ति आर्जन गरेको आरोप समेत छ । अकुत सम्पत्ति आर्जन गरेको विषयमा अनुसन्धान हुनसक्ने थाहा पाएपछि महतो भागेर भारत पुगेको हुनसक्ने स्रोत बताउँछ।
‘सुरक्षित ठाउँ खोज्दै उनी भारत पुगेको हुनसक्छ,’ ती प्रहरी अधिकारीले भने, ‘सरकारको यो हल्ल्लासँगै अरु व्यक्तिहरु पनि भाग्नसक्ने देखिएको छ।’
महतोले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै इमानदारीपूर्वक काम गर्न र जनताको मुद्दालाई प्राथमिकता दिन आग्रह गरेका थिए। उनले ‘धोका, भ्रम र ढाँटको राजनीति नगर्न’ चेतावनीसमेत दिएका थिए।
उनको फेसबुक स्ट्याटस
प्रधानमन्त्री बालेन्द्र शाहजीलाई मेरो आग्रह छ, तपाईंले इमानदारीपूर्वक काम गर्नुस्। जनताको मुद्दालाई प्राथमिकता दिनुस्। काम गर्न दिइएन भने त्यो कुरा जनतासामु राखेर कुर्सी छोड्ने साहस राख्नुस्। तर धोका, भ्रम र ढाँटको राजनीति नगर्नुस् । जनताले त्यो पटक्कै सहन सक्दैनन्।
हामी सतर्क छौं। आशा र विश्वाससाथ हेरिरहेका छौं। राम्रो काम गर्नुभयो भने हाम्रो पूर्ण सहयोग रहनेछ। बेइमानी गर्नुभयो भने हामी पनि प्रखर विरोधमा उत्रिनेछौं। जनता आन्दोलनको शक्ति सबैभन्दा ठुलो शक्ति हो।
प्रभानमन्त्री शाहले २०४८ सालयता सार्वजनिक पदमा बसेका राजनीतिक नेता तथा उच्चपदस्थ व्यक्तिहको सम्पत्ति छानबिन गर्ने निर्णय गरेका छन्। सरकारले आगामी १५ दिनभित्र अधिकारसम्पन्न छानबिन समिति गठन गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ।
उक्त समितिले दुई चरणमा सम्पत्ति छानबिन गर्नेछ- पहिलो चरणमा २०६२/६३ यताका र दोस्रो चरणमा २०४८ देखि २०६१/६२ सम्म सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति अनुसन्धान गरिनेछ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको दायरामा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का परिसकेका छन्। उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार पक्राउ गरिएको जनाइएको छ।
प्रहरी स्रोतका अनुसार करिब १० हजार व्यक्ति अनुसन्धानको दायरामा आउन सक्ने अनुमान छ। अनुसन्धान प्रक्रिया लामो हुने भएकाले केही व्यक्तिहरू भाग्ने प्रयासमा रहेको आशंका गरिएको छ।
सरकारको यो कदमलाई भ्रष्टाचार नियन्त्रणतर्फको ठूलो पहलका रूपमा हेरिएको छ भने अर्कोतर्फ राजनीतिक वृत्तमा यसको प्रभावबारे विभिन्न टिकाटिप्पणीहरू सुरु भएका छन्।
