काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री रमेश लेखक र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाममा शनिबार जारी विज्ञप्तिमा दुवैलाई तत्काल रिहाइको माग गरिएको छ।देउवा पक्षीय कांग्रेसले सरकारद्वारा दुवै नेतालाई राजनीतिक प्रतिशोधको उद्देश्यले पक्राउ गरी अवैध हिरासतमा राखिएको आरोप लगाएको छ।
संविधान र प्रचलित कानूनविपरीत भएको भन्दै देउवा पक्षीय कांग्रेसले उक्त कदमको भर्त्सना गरेको छ।सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको सिफारिसको आधारमा गरिएको भनिएको कारबाहीले गम्भीर संवैधानिक र कानुनी प्रश्न उठाएको खड्काले बताएका छन्।
आयोगको प्रतिवेदनमा अनुसन्धान र अभियोजनका लागि सिफारिस गरिएको भए पनि आवश्यक प्रक्रिया पूरा नगरी तत्काल पक्राउ गर्नु कानुनी राज्यको सिद्धान्तविपरीत भएको उनको दाबी छ।
