काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गर्ने तयारीका लागि गृहमन्त्री सुधन गुरुङ रातभर प्रहरी मुख्यालयमै बसेर निर्देशन दिएको खुलासा भएको छ।
उच्च स्रोतका अनुसार गुरुङसँगै गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, एआईजी ईश्वर कार्की र उमा चतुर्वेदी समेत रातभर नक्सालस्थित नेपाल प्रहरी मुख्यालय मा बसेर फिल्डमा खटिएका टोलीलाई निरन्तर निर्देशन दिइरहेका थिए।
स्रोतका अनुसार गृहमन्त्री गुरुङले ‘जसरी पनि पक्राउ गर्नुपर्ने’ कडा निर्देशन दिएका थिए। प्रारम्भिक योजनाअनुसार भक्तपुरको कटुन्जेमा रहेका लेखकलाई पहिला नियन्त्रणमा लिने र त्यसपछि गुण्डुस्थित ओली निवास वरपर प्रहरीको बाक्लो घेरा बनाएर उपयुक्त समयमा पक्राउ गर्ने रणनीति बनाइएको थियो।
अप्रेसनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल का छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो। समग्र अप्रेसनको नेतृत्व भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको थियो। सोही क्रममा एसएसपी सन्तोष खड्का स्वयं टोलीसहित गुण्डु पुगेर अप्रेसन अगाडि बढाएका थिए।
यसैबीच, जिल्ला प्रहरी परिसरको अपराध अनुसन्धान तथा कारबाही शाखाले शनिबार ओलीका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। सोही कानुनी आधारमा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ।
