सर्लाही । भारत – नेपाल सीमामा जोडिएको सर्लाही जिल्लामा तस्करी खुलेआम बढ्दो छ । नियन्त्रणका लागि खटाइएका प्रहरी आफैं तस्करका संरक्षकमा बदलिँदा प्रशासनको विश्वसनीयता गम्भीर रूपमा प्रश्न उठेको स्थानीय स्रोतहरूको आरोप छ ।
नेपाल प्रहरीको उपस्थितिमाझैँ दैनिक लाखौँ रुपैयाँ बराबरका सामग्री सीमा पार हुँदै आएका छन् । सादा पोसाकमा खटाइएका घुमुवा प्रहरीहरूले तस्करहरूसँग मिलेमतो गर्दै ‘लाइन खोल्ने’ काम बढाएको दाबी छ ।
सर्लाहीमा अहिले सहायक प्रहरी हवल्दार रन्जेश पटेल, मजरुल होदा र प्रहरी जवान राजिव पटेलको नाम तस्करी गतिविधिमा प्रत्यक्ष रूपमा जोडिँदै आएको स्रोतको भनाइ छ । तिनले तस्करहरूसँग छुट्टै मोबाइलमार्फत सम्पर्क, रकम उठाउने र अवैध कारोबार सहज पार्ने कार्य गर्दै आएका छन् । उनीहरूको नेटवर्ककै कारण जिल्लाभरिका धेरै नाका तस्करीका खुला मार्ग बनेका छन् ।
भारतको बिहारमा सम्पन्न विधानसभाका कारण केही समय सीमा पूर्णरूपमा बन्द हुँदा तस्करी केही दिन स्थिर भएको थियो । तर, निर्वाचन सकिएलगत्तै पुनः तीव्र गतिमा सञ्चालनमा आएको छ। अहिले विभिन्न नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा सामान ओसारिने क्रम बढ्दो छ ।
सर्लाहीका नाकामार्फत चाइनिज लाइटर, लसुन, कपडा, ब्याट्री, किराना सामग्री, मदिरा, स्याउ, चल्ला, हार्डवेयरका सामान, बालुवा, गिट्टीलगायतका वस्तुहरू अवैधरूपमा ओसारिन्छन्। भाइलोगबाट सोहरवाका तस्करदेखि सेराजुल मिकरानीसम्म सबैले सीमाक्षेत्रमा बलियो जालो बुनेका छन् ।
बलराका नविन चौधरी कवाड र व्याट्रीको लाइन चलाउँछन्। इनरवाका विजय दास तत्मा र पुकार ठाकुर पर्सा–सखुआवा नाकाबाट कपडा तस्करी गर्छन् । पर्साका सरोज साह सोनार पनि सोही नाकाबाट कपडाको कारोबार गर्छन् ।
मलङ्वाबाट काठमाडौं जाने पृथ्वी बस र अन्य सवारीसाधनहरूमा कपडा, काजु र स्पेयर पार्ट्स ओसारिने गरेको छ ।
संग्रामपुर नाकाकी सोभा मैडम स्कुटीमार्फत किराना सामान तस्करी गर्छिन् भने त्रिभुवन नाकाका सुजित यादव लोकल बसमार्फत किराना पठाउने गर्छन् । जितेन्द्र किराना र मलखाद, राजा हार्डवेयर, तिन बहिनीले लोकल बसमार्फत किराना–सामग्री पठाउने गर्छन्। ‘मैडम’ नामले चिनिने अर्की महिलाले काजु–किसमिस ओसार्ने गर्छिन् ।
लालबन्दीका शेखर गुप्ता अटोमार्फत किराना र हार्डवेयर पठाउँछन् । त्रिभुवन नगरका हुसैनी कपडाको ठूलो लाइन चलाउने तस्कर मानिन्छन् ।
बरहथवाका राजेश यादव सुपारी, कपडा, किराना तथा हार्डवेयरका वस्तुहरू तस्करी गर्छन् । गम्हरियाका बिजय साह कलवार भाडसर नाकाबाट कपडा तान्ने गर्छन् ।
खैरवाका बुधु यादव छन्किटोला नाकाबाट रङ्गाको तस्करी गर्छन् भने सोही क्षेत्रका रामइश्वर बलरा–छन्कि नाकाबाट कपडाको ओसारपसार गर्छन् । त्यस्तै मनोज, सिकिन्दर र सोपिन्दरले गडहिया–खैरवा–बाध हुँदै रौतहटको धरमपुर पुलतर्फ कपडा तथा बहुमूल्य सामग्री तस्करी गर्ने गरेका छन् ।
बयलबासकी बबिताले अटोमार्फत कपडा र किराना सामान तस्करी गर्दै आएकी छन् । स्थानीयका अनुसार, बबिता त्यस्तै महिला हुन् जसलाई रोक्न प्रहरी आफैं डराउँछन्, किनकि धेरै प्रहरीलाई फोनमार्फत धम्क्याउने र ब्ल्याकमेल गर्ने गरेको तथ्य बाहिर आइसकेको छ । यही कारण उनको गतिविधि नियन्त्रणमा ल्याउन प्रशासन कमजोर देखिएको आरोप छ ।
स्रोतका अनुसार यी सम्पूर्ण तस्करी नेटवर्कको ‘सेटिङ मास्टर’ सादा पोसाकमा खटाइएका प्रहरी रन्जेश पटेल, मजरुल होदा र राजिव पटेल नै हुन् । तस्करी नियन्त्रणका लागि पठाइएका प्रहरी आफैं तस्करका संरक्षक बनेपछि सर्लाहीमा ‘सेटिङको शासन’ चलेको स्थानीयको आरोप छ ।
पटक–पटक उजुरी दिइए पनि देखावटी कारबाहीमै सीमित भएकाले प्रहरीले तस्करी नियन्त्रण गर्ने इच्छाशक्ति नै नराखेको आरोप स्थानीय बासिन्दाहरूको छ । परिणामस्वरूप सर्लाही अहिले सीमापार तस्करीको प्रमुख केन्द्रका रुपमा उभिँदै गएको छ
