काठमाडौं । देशभर चाडपर्व नजिकिँदै गर्दा सीमावर्ती जिल्लामा तस्करी बढ्ने पुरानै प्रवृत्ति हो। तर यसपटक बारा जिल्लामा तस्करी झन् फस्टाएको छ। प्रहरी अपराध नियन्त्रणमा खटिनुको साटो तस्करीकै संरक्षणकर्ता बनेको आरोप खुलेसँगै शान्ति सुरक्षाप्रति गम्भीर प्रश्न उठेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङमाथि तस्करीलाई खुला आकाश दिन क्राइम ब्रान्चमार्फत लाइन दिएको गम्भीर आरोप लागेको छ।
त्यतिमात्र नभएर उनले एकजना स्थानीय पत्रकार माध्यमबाट लाखौं रुपैयाँको नजराना बुझि तस्करीको लाइन दिएको समेत खुलेको छ। ती पत्रकारको बास नै एसपीको क्वार्टरमा हुने गरेको उनलाई देख्नेहरु बताउँछन्।
यतिबेला बाराको मुसहर्वा, बलिरामपुर, छतवा, बरैनिया, मटिअर्वा, सिम्रौनगढ, कवहीगोठ, बलिरामपुर, आमवा, बसतपुर, पथालवाघाट, कचर्वालगायत नाकाबाट ठुलो मात्रामा तस्करी सञ्चालन भएको छ।
एसपी तामाङकै निर्देशनमा बरिष्ठ सई अरुण यादव, प्रहरी हवल्दार शैलेश पटेल, प्रहरी हवल्दार उमेश यादव र प्रहरी जवान पवन महतोलगायत मातहतका चौकीमा कार्यरत प्रहरीहरु सक्रिय रहेको खुलेको छ।
एसपी तामाङको निर्देशनमा बरिष्ठ सई अरुण यादवका साथै बाराकै आदर्शकोतवालका पुर्वप्रहरी कर्मचारीका भाई पत्रकार भनिएका साह थर भएका व्यक्तिले कुल मासिक ३५ लाखसम्म कमिसन असुल्ने गरेको स्रोत बताउँछ ।
कुन नाकाबाट कति ?
सिम्रौनगढ नाका
बारा जिल्लाको सिम्रौनगढ नाका तस्करीको लागि प्रख्यात छ । जुन नाकाबाट कपडा, किराना, चिनी तस्करी हुन्छ ।
कपडा तस्कर भोला साह कानुबाट ६० हजार, मास्टरबाट ४५ हजार, अरबिन्द कलवारबाट ४० हजार प्रहरीले बुझ्ने गर्छन् । र, बलिरामले समेत कपडा तस्कर गर्ने गरेका छन् ।
यस्तै पप्पुबाट ३० हजार किराना, संजयबाट ४० हजार चिनी, प्रेम र उमेश समूहबाट ७० हजार किराना सामान तस्करीको बापत प्रहरीले पैसा उठाउने गर्छ ।
यिनीहरुसँग पैसा असुल्ने काम सहायक हवल्दार रुपेश कुशहवा र ती पत्रकारले गर्ने गरेको स्रोत बताउँछ । यो जिम्मा एसपी तामाङले दिएका हुन् ।
कहवीगोठ नाका
कहवीगोठ नाका पनि तस्करको लागि चर्चित छ । यस नाकाबाट फुल, किराना आइटम, चिनी तस्करी हुन्छ ।
यस नाकाको मुख्य तस्कर हुन् सुरेन्द्र साह र सियाराम कुसहवा । पिकअप भ्यानमा फुल तस्कर गर्ने सुरेन्द्र साहले प्रहरीलाई २ लाख ५० हजार रुपैयाँ बुझाउने गरेका छन् ।
यस्तै माछा र फुल तस्कर गर्ने सियाराम साहले पनि प्रहरीलाई लगभग त्यस्तैको रेन्जमा पैसा बुझाउने गरेको स्रोत बताउँछ ।
यस्तै प्रिन्स नाम गरेका तस्करले चिनीको तस्कर गर्छन् । यिनले मटिहर्वाबाट चिनीको तस्कर समेत गर्थे । उनले अहिले ३० हजार मासिक बुझाउने गरेका छन् । किराना सामान तस्कर गर्ने अजय यादवले ५० हजार बुझाउँछन् ।
यस्तै चिनी तस्कर गर्ने सन्तोषले ३५ हजार, कपडा तस्कर गर्ने खेना ग्रुपले ८० हजार, ओम प्रकाश गुप्ताले ३५ हजार र साइकल ग्रुपले ३० हजार प्रहरीलाई बुझाउने गरेको छ ।
यस्तै मिश्रिलाल साहले कपडाको तस्कर गर्ने गरेका छन् । उनले एकैपटक ५-६ वटा मोटरसाइकल निकालेर तस्कर गर्दै आइरहेका छन् । यिनले पनि प्रहरीलाई राम्रै रकम बुझाउने गरेको पाइएको छ ।
यस नाकाको पैसा उठाउने जिम्मा एसपी तामाङले जिल्लाकै क्राइम ब्रान्च टोलीका प्रहरी हवल्दार शैलेश पटेलले पैसा उठाउने गर्छन् ।
मटिअर्वा नाका
मटिअर्वा नाका बाराको सबैभन्दा चर्चित नाका हो । यस नाकाबाट दिनहुँ करोडौंको सामान तस्कर हुने गर्छ । कपडा र रजनीगन्धा तस्कर हुने मुख्य नाका यही हो ।
कवाडवालाले मुख्य तस्कर गर्छन् । यस नाकाबाट ककपडा र रजनीगन्धा तस्कर गरेवापत वाडवालाले प्रहरीलाई ३ लाख रुपैयाँ बुझाउने गर्छन् । यस्तै कपडा तस्कर विकास सिंहले १ लाख ५० हजार बुझाउँछन् । उनले मटर तस्कर समेत गर्छन् ।
यस्तै विरेन्द्र समूहले ४० हजार बुझाउले गर्छ । यो समूहले मोबाइलको पार्टस्, सुनदेखि चिनीसम्म कटाइदिने गरेको छ । शेषनाथ समूहले नेपालबाट भारतमा हार्डवेयर सामान तस्कर गर्छ । यसले ३० हजार हजार बुझाउने गरेको छ ।
सुमन नामको तस्करले २० हजार, दिलिप केहरी साइकल ग्रुपले चिनीमैदा तस्करी गरेबापक ३० हजार बुझाउने गरेको छ । १० वटा साइल प्रयोग हुने गरेको छ । पार्वती ग्रुपले कपडा तस्करबापत ३० हजार बुझाउने गरेका छन् । अटोमा कपडा तस्कर गर्छन् ।
यस्तै कपडा तस्कर गर्ने ममताजले ३० हजार, कपडा तस्कर गर्ने मनागं मियाँले ३० हजार, रजनीगन्धा र कपडा दुवै तस्कर गर्ने राजेश केशरीले २५ हजार मासिक रुपमा प्रहरीलाई बुझाउँदै आएका छन् ।
मटिअर्वा नाकाबाट पैसा उठाउने काम प्रहरी जवान राम पटेलले गर्ने गरेका छन् । उनी मटिअर्वा चौकीमा कार्यरत छन् । एसपी तामाङले उनलाई जिम्मा दिएका हुन् ।
यी जवान पटेलले प्रदेश प्रहरी प्रमुख डिआईजी उमा चुतर्वेदीको समेत नाम लिएर बद्नाम गर्दै हिँडेको पाइएको छ ।
मुसहर्वा नाका
मुसहर्वा नाका पनि बाराको तस्कर गर्ने नाकामध्येको एक हो । तस्करीकै लागि चर्चित यस नाकाबाट पनि कपडा, किराना, हार्डवेयर, कुखुराका चल्ला, मटर, चिनी, काजु, फुल, रजनीगन्धालगायत तस्कर हुने गर्छ ।
कपडा तस्कर मुना साहबाट ६० हजार, कपडा तस्कर सेखावत मियाँबाट ४० हजार, हार्डवेयर तस्कर प्रेमबाट ४० हजार, किराना आइटम तस्करी गर्ने उज्वल ग्रुपबाट ६० हजार रुपैयाँ प्रहरीले लिने गरेको छ । उज्जव ग्रुपले मोटरसाइकलमा सामान ओसारपोसार गर्ने गर्छ । उज्वल, मानसाह, बलिराम, अनिललगायतको समूह छ ।
यस्तै कपडा तस्कर करिमाया चन्दनबाट ५० हजार, माछावालाबाट ३० हजार, कुखुराको चल्ला तस्कर रितेश साह मुखियाबाट ३५ हजार, साइकल ग्रुप (१० जनाको)बाट ४० हजार, किराना आइटम तस्कर गर्ने मुनिलाल यादवबाट २० हजार प्रहरीले बुझ्ने गर्छ ।
यसैगरी, लसुन प्याज, काजु तस्कर गर्ने मनजित मियाँबाट २५ हजार, फुल तस्कर छविलालबाट ६० हजार, रजनीगन्धा तस्कर अरविन्द तुरहाबाट २५ हजार र कवाडवालाबाट १ लाख ५० हजार रुपैयाँ प्रहरीले मासिक रुपमा उठाउने गरेको छ ।
यस नाकाबाट पैसा उठाउने जिम्मा प्र.स.नि. अजय पटेललाई दिइएको छ । उनले हाइवे रुटसमेत हेर्ने गरेका छन् ।
छतवा नाका
छतवा नाका पनि तस्करको मुख्य अड्डा हो । यस नाकाबाट पनि कपडा, कस्मेटीक, काजु, कुखुराका चल्ला तस्करी हुन्छ ।
कपडा तस्कर चन्दन साहबाट ६० हजार, कस्मेटिक आइटम तस्कर बद्री सोनारबाट ४५ हजार, कपडा तस्कर आनन्द साहबाट ५० हजार प्रहरीले मासिक रुपमा बुझ्दै आएको छ ।
त्यस्तै काजु तस्कर प्रेमबाट ६० हजार, अर्का काजु तस्कर विरेन्द्रबाट ४० हजार, परशुराम बाइक ग्रुपबाट ८० हजार र कुखुराको चल्ला तस्करी गर्ने रामपुकारबाट ४० हजार प्रहरीले लिने गर्छ ।
यो नाकाको जिम्मा प्र.स.ह. सन्तोष पटेल, प्र.ज. पप्पु कुर्मीलाई दिइएको छ । यिनीहरु छतवा चौकीका घुमुवा हुन् । तर, जिल्लाबाट खटाइएका हुन् ।
जेनजीको अन्दोलनले देशमा ठुलो परिवर्तन भएपनि बारा प्रहरीको व्यवहार परिवर्तन हुन सकेको छैन।
