काठमाडौं । जेनजी आन्दोलनका क्रममा पर्साको वीरगन्ज निवासी नेपाली कांग्रेस केन्द्रीय सदस्य अनिल रुङ्टाको घरमा भएको आगजनीको लप्काले केवल उनको राजनीति मात्र होइन, एउटा सामान्य श्रमिक महिलाको जीवन पनि जलेको छ।
पर्सा सखुवा प्रसौनी गाउँपालिका–२ की बासिन्दा ४५ वर्षीया सुशीला हजारा आफ्नो परिवारको पेट पाल्न रुङ्टा परिवारको घरमा घरेलु कामदार थिइन्। तर भदौ २४ गतेको आगलागीमा उनी राजनीतिक क्रोधको सर्वाधिक निर्दोष शिकार बनिन्।
रातारात उनको जीवन समाप्तीको सुरुवात भयो– ५० प्रतिशत शरीर जलिसकेपछि वीरगन्जकै नेशनल मेडिकल कलेजमा भर्ना गरिएकी सुशीलालाई स्वास्थ्यमा सुधार नभएपछि राजधानी काठमाडौंको किर्तिपुर बर्न अस्पताल पुराइएको थियो। असोज ६ गते उपचारकै क्रममा उनको ज्यान गयो।
सामान्य जीवन गुजारा गर्दै आएकी महिलाको मृत्युले आन्दोलनले ल्याउने हिंसात्मक परिणाम कति गहिरो र त्रासदीपूर्ण हुन्छ भन्ने उदाहरण दिएको छ। सुशीलाको मृत्यु केवल व्यक्तिगत पीडा मात्र होइन, आन्दोलनका क्रममा निर्दोषहरूलाई कसरी बलि चढाइन्छ भन्ने प्रश्न पनि हो।
त्यसै आगलागीमा १८ वर्षीय विनय यादव पनि गम्भीर घाइते भएका थिए। भारत बिहारको सुगौली निवासी यादवको शरीरको ९० प्रतिशत भाग जलेको भए पनि हाल काठमाडौंको किर्तिपुर बर्न अस्पतालमा उनको उपचार भइरहेको छ। यादवको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।
राजनीतिक प्रदर्शनले शक्तिशाली व्यक्तिहरूलाई मात्र होइन, उनीहरूको घरभित्र काम गर्ने आम मान्छेहरूको जीवनलाई समेत कसरी विनाशकारी असर पु¥याउँछ भन्ने कथाको नायक आज सुशीला हजारा भइन— जो आफ्नै संघर्षमा रमाईरहेकी थिइन्।
कुनै राजनीतिक हैसियत नभएकी उनी आन्दोलनको आगोमा बलि चढिन। उनको मृत्युले एउटा प्रश्न उभ्याएको छ— हिंसात्मक आन्दोलन कस्का लागि थियो ?
