नेपाल प्रहरीको इतिहासमा गर्वका साथ लिइने नाम हो प्रहरी महानिरीक्षक (आईजीपी) खड्गजीत बराल । र आउने पुस्तौंपुस्ताले पनि नेपाल प्रहरीमा खड्गजीत बरालको नाम उच्च सम्मानका साथ लिनेछन् ।
प्रहरीमा सेवा प्रवेशदेखि अविरल रुपमा अब्बल दर्जाको अधिकृत भएर अवकाशपछि पनि अभिभावकको रुपमा सम्मान र इज्जत कमाउन सफल व्यक्तित्व हुन् पूर्वआईजीपी बराल ।
बराल वि.सं. २०२९ सालदेखि २०३५ सालसम्म नेपाल प्रहरी महानिरीक्षक बने । २००७ सालदेखिको इतिहासमा बरालको कार्यकालदेखि नेपाल प्रहरीको वृद्धि विकास सुरु भएको थियो ।
बरालको कार्यकालभन्दा पहिलासम्म नेपाल प्रहरीको क्षमता वृद्धिका लागि वैदेशिक तालिम शून्य जस्तै थिए । बराल आईजीपी बनेपछि आफैं तालिमका लागि भारत, अमेरिका, चीनजस्ता देशहरुमा पुगे । उनकै कार्यकालमा नेपाल प्रहरीका अधिकृतहरुले धेरै भन्दा धेरै वैदेशिक तालिमहरु गर्न पाए ।
उनकै कार्यकालमा नेपाल प्रहरीका अधिकृतहरुलाई संयुक्त राज्य बेलायतबाट विधि विज्ञानमा फिगंर प्रिन्ट, बेलिस्टिक तथा भारतबाट प्रति जासुसी फोटोग्राफी र सञ्चारसम्बन्धी तालिम गराइयो । यहिँबाट नेपाल प्रहरीको क्षमता वृद्धि सुरु भएको मानिन्छ ।
उनीहरुलाई भारतको सीमा सुरक्षा बल बोर्डर सेक्युरिटी फोर्सबाट कमाण्डो र कम्पनी कमाण्डरका प्यारामिनिटरको कोर्स गराइए । सो तालिमको फलस्वरुप बरालले लेखक तथा तालिमप्राप्त प्रहरी अधिकृतहरुद्धारा स्वदेशमै तालिम सञ्चालन गराउने थालनीको सुरुवात गरे ।
तपाईलाई पत्याउन पनि मुस्किल पर्ला, नेपाल प्रहरीलाई त्यसअघिसम्म खाने र बस्ने ठाउँको बुनै सुविधा थिएन । प्रहरीहरु पाटी र सतलहरुमा बस्न बाध्य थिए । उनी संगठन प्रमुख भएपछि २०३० सालमा समस्त नेपाल प्रहरीहरुका लागि रासनपानीको व्यवस्था गरियो ।
२०३१ सालमा आईजीपी बरालबाट नेपाल प्रहरीमा पहिलोपटक इन्जिनियरिगं शाखा हाल भौतिक पूर्वाधार निर्देशानलय स्थापना गरेर शाखा प्रमुखमा इन्जिनियरलाई बरिष्ठ पदमा स्थायी नियुक्ति दिइयो । साथै केही ओभरसियरहरुलाई पनि उनले स्थायी नियुक्ति दिलाए ।
त्यसपछि प्रहरीका भवन र कार्यालयहरु निर्माण हुन थालेका हुन् । र, भवनहरु निर्माण गर्न आईजीपी बराल राजासँग बजेट माग्न आफैं पुग्थे । र, बनेका भवनहरु आफैं उद्घाटन गर्थे । २०३४ सालमा प्रहरी र स्थानीयको सहयोगमा तनहुँस्थित आबुखैरेनी चौकी पहिलो उद्घाटन गरेका थिए उनले ।
बरालको पहलमा सीमित स्रोत र साधनबाट नेपालभरी प्रहरीको भवन निर्माण गर्न सम्भव भयो । प्रहरी, स्थानीय प्रशासन र जनसहयोगबाट राष्ट्रिय पहिचान झल्किने एकैखालको प्यागोडा शैलीका चौकी, थाना र ब्यारेकलगायतका अन्य प्रहरी भवनहरु बनाउने राष्टव्यापाी अभियानै थालियो ।
त्यस्ता आकर्षक चौकीहरु जनयुद्धको समयमा विद्रोह पक्षबाट भत्काइए । अहिलेका प्रहरी कार्यालयहरु र त्यसबेला बनाइएका चौकीहरु आकाश-पताल तुलना नै हुन सक्दैन ।
सुन्दा अचम्म लाग्ला, पहिला प्रहरी आफैंले युनिफर्मको खर्च व्यहोर्नुपथ्र्यो । बरालकै कार्यकालमा २०३३ सालदेखि नेपाल प्रहरीका सम्पूर्ण सदस्यहरुका लागि पहिलोपटक निःशुल्क पोसाकको व्यवस्था भयो ।
यसका लागि सोही सालदेखि सरकारबाट बजेट निकासा हुन थाल्यो । भूतपूर्व प्रहरी अधिकारीहरुका अनुसार त्यसबेला आईजीपी बरालले प्रहरीलाई बजेटनको निकासा गराउन नहिचकिच्याईकन राजदरबारसँग सिधै कुरा गर्थे ।
पहिला नेपाल प्रहरीमा स्वास्थ्य सेवातर्फ साधारण उपचारको लागि मेडिकल इम्पेक्सन (एमआई) कक्षमात्र थिए । २०३०-२०३२ सालतिर प्रहरी प्रमुखका हैसियतले बरालको भारत सरकारको औपचारिक भ्रमणको क्रममा नेपाल प्रहरीको लागि २५ शैय्याको अस्पताल बनाउन भारत पक्षसँग सहमति भयो ।
पछि उनकै कार्यकालमा नेपाल प्रहरीका लागि ५० शैय्याको अस्पताल बनाउन भारत सरकार तयार भयो । त्यस्तै बरालकै पहलमा २०३३ सालमा डा. प्रेमलाल श्रेष्ठलाई नेपाल प्रहरी अस्पतालको प्रमुख बनाइयो ।
डिएसपीको नियुक्ति दिलाएर प्रहरीमा स्वास्थ्य उपचारको भरपर्दो व्यवस्थाको सुरुवात त्यसबेलै बरालले गराएका थिए । त्यसैले प्रहरी संगठनमा भन्ने गरिन्छ, खड्गजीत बराललाई रासनको सीता भवनको भित्ता अनि युनिफर्मको फितासम्मले सम्झिन्छन् ।
नेपालको सीमा सुरक्षाको चासो र अवधारणाको विकास पनि बरालबाटै भयो । बरालको कार्यकालमा २०३३ सालको प्रहरी इन्स्पेक्टरको दरबन्दी त्यहि प्रयोजनको लागि खडा गरियो ।
फलस्वरुपः त्यसैबेला पुलिसका इन्स्पेक्टरले नेतृत्व गर्ने नेपाल भारत सीमा र नेपाल चीन सीमा गरेर ३० ठाउँमा सीमा प्रहरी चौकी स्थापना भए ।
बराल आईजीपी हुँदा उनले प्रहरी प्रमुखको हैसियतले इन्टरपोल अन्तर्राष्ट्रिय प्रहरी संगठनको सम्मेलनमा पहिलोपटक भाग लिए । जुन इन्टरपोल अहिले पनि सक्रियतापूर्वक अपराध अनुसन्धानमा नेपालमा पनि सक्रिय छ ।
२०३० को दशकको प्रारम्भसम्म पनि नेपाल प्रहरीलाई बल प्रदर्शन गर्ने संगठनको रुपमा मात्रै हेर्ने गरिन्थ्यो । त्यसलाई आजभोली सामुदायिक प्रहरी र प्रहरी मेरो साथी अभियानले जनता र प्रहरीबीच सेतु बनाउने प्रचलन बढेको छ ।
बरालको कार्यकालमा खेलकुदको माध्यमबाट नेपाल प्रहरी एकैचोटी लोकप्रिय बन्न पुग्यो । उनकै कार्यकालमा फुटबल, जुडो, कराँते, जिम्नास्टिक्स, एथलेट्क्सि र बक्सिगंजस्ता विविध विधाका बहुआयामिकका शिक्षित युवापिँढी प्रहरी सेवाप्रति आकर्षित भए ।
पूर्वआईजीपी अच्युतकृष्ण खरेल, पूर्वडिआईजीपी रुपाल शमबेर जबरा, पूर्वएसएसपी बाबुराम पुन, पूर्वएसपी रुपकराज शर्मा, पूर्वइन्स्पेक्टर त्रय अशोक केसी, सुरेश पन्थी, धीरेन्द्र प्रधान र लोक बहादुर शाही आदीजस्ता खेलकुदका हस्तीहरुलाई नेपाल प्रहरीमा नियुक्त गर्ने काम बरालबाटै सुरु भएको थियो ।
वि.सं. २०३० साल अघिसम्म नेपाल प्रहरीका सदस्यहरु अवकाशपछि सम्पर्कविहिनझैं हुन्थे । नेपाल प्रहरीमा लामो समय सेवा गरेर हराएका प्रहरीलाई सम्झिने पनि कोही थिएनन् ।
यो कुरालाई मनन गरेर आईजीपी बरालले २०३० सालमा पहिलोपटक प्रहरी पुर्नमिलन दिवस मनाउने परम्पराको थालनी गरे । बराल रुखो र ठाडो तर बहादुर स्वभावका थिए । र, पनि ओखरभित्रको गुदीजस्तै मायालु र दयालु थिए ।
बरालले २०३५ सालमा प्रहरी सेवाबाट अवकाश पाएपनि जीवन पर्यन्त पुर्व तथा बहालवाला प्रहरीहरुसँग अनवरत रुपमा सद्भाव र सम्पर्क राखिरहन्थे ।
उनीसँग मात्र होइन, पूरै संगठनलाई नेपाल प्रहरीप्रतिको अगाव माया र निष्ठाको भाव जगाउँथे । तर, दुर्भाग्यवश यो परम्परा २०४६ सालको परितर्वनलगत्तै केही प्रहरी प्रमुखहरुबाहेक सबै सबैले मातहतका प्रहरीका लड्नुभन्दा आफ्नो हित र स्वार्थलाई बढी महत्व दिन थाले ।
जसरी पनि राजनीतिक शक्ति रिझाएर आफ्नो प्रमोसन र सुविधाको लागि मात्रै लागिरहे । आज नेपाल प्रहरी संगठन यस्तै प्रवृतिले धुमिल बनिरहेको छ ।
उनै नेपाल प्रहरीका बहादुर आईजीपी खड्गजीत बराल वि.सं. २०७८ जेठ ५ गते यो धर्तीबाट विदा भए । हार्दिक श्रद्धासुमन !!
