कानुनको अनविज्ञता क्षम्य हुँदैन भन्ने सर्वव्यापी फौजदारी कानुनको सिद्दान्त हो । यसको सोझो अर्थ भनेको कानुनमा भएको प्रावधान तथा व्यवस्थाहरू बारे सामान्य मानिलाई ज्ञान हुन्छ भन्ने हो । अत : कुनै मानिसले कानुन विपरित गएर कुनै कार्य गर्दा आफुलाई बचाउ गर्न पाउँदैन र यस्तो तर्क दिनेलाई कानूनले अनुमति दिँदैन । कानूनभन्दा माथि अर्को मान्छे हुँदैन । कानुनको पालना सबै नागरिकले गरेको हुनुर्पछ ।
कानुनको आँखामा सबैलाई सदा समान देख्दछ, कानुन सबैको लागि विभेद रहित तरिकाबाट बनेको हुन्छ । फौजदारी कानुनको यस सिद्दान्त अन्र्तगत कानुन सबैले जानेको हुनुर्पछ । कानुन राजाको पनि राज हो । कानुन भन्दा ठुलो अर्को कोहि व्यक्ति हुँदैन त्यसैले प्रत्यक नागरिकले आफूभन्दा माथि लागू हुने कानुनका बारे जानकारी हासिल गरेकै हुनुर्पछ ।
(Ignorance of law is no excused) लाई प्राचिन ल्याटिन सुत्रमा (Ingnorantia juris non excusat) भनिन्छ । यस सिद्दान्तको तात्पर्य सबैले कानुन जानेको हुनुर्पछ भन्ने होइन बस यसको पालना नगरेमा उत्पन्न हुने कठिनाईका लागि यसलाई स्विकार गनुपर्ने हुन्छ ।
यस सिद्दान्तलाई मुलुकी अपराधसंहिताको दफा (८) व्यवस्था गरेको छ । सो दफा अनुसार ‘तथ्यको भ्रममा परी कानुन बमोजिम गनुपर्ने वा मानिएको विश्वास गरी असल नियतले गरेको कुनै काम कसुर मानिने छैन । तर कानुनको अनविज्ञतामा गरेको काम क्षम्य हुने छैन’ भन्ने व्यवस्था गरेको छ ।
फौजदारी कानुन वा देवानी कानुन जुनसुकै भएता पनि कानुन नबुझेर गल्ती गरे भनेर कानुनी प्रतिरक्षा लिन सकिँदैन । कानुन स्पष्ट र निश्चित हुन्छ त्यसैले आफुसँग सम्बन्धित कानूनको जानकारी राख्नु सबै व्यक्तिको कर्तव्य हो । फौजदारी कानुनमा कसुर हुनका लागि दुई वटा तत्वको पर्छ (क) अपराधिक कार्य (ख) दुषित मनसाय अनिवार्य तत्व मानिन्छ । त्यसैले हामीले कानुन नबुझेर गरेको गल्तीमा अपराधि कार्य वा अपराधिक मनसाय मध्ये एक भएन भने हामी सजायको भागीदार हुनुपर्दैन ।
कानुनको अज्ञानताको कुनै बहाना हुँदैन । सबै नागरिकहरू कानुनको विशेषज्ञ हुनैर्पछ भन्ने होइन तर पनि कहिँकतैबाट आफनो हकहित हनन हुन्छ कि मेरो सानो गल्तीले अर्को कुनै व्यक्तिले पाउने अधिकारको हनन हुन्छ कि ? भन्ने कुरा थाहा पाउनका लागि भएपनि सामान्य रुपमा भएपनि कानुनको ज्ञान हामी सबै नागरीकमा हुनुर्पछ ।
कानुनी मूल्य ,मान्यता, दण्ड, सजाय, व्यवस्थाको बारेमा बुझ्न सबै नागरिकको कर्तव्य हो । त्यसैले सबै नागरिकमा सामान्य कानुनको ज्ञान हुनुपर्छ । आजभोलि हेर्ने हो भने साइबर अपराध, १८ बर्ष नपुगेकी किशोरीसँग शारीरिक सम्पर्क, बालविवाह आदि अन्तर्गतका अपराध कानुनले कठोर रुपमा दण्डित गरेपनि यसको प्रष्ट रुपमा जानकारी नहुँदा धेरैले अन्जानमा धेरै अपराधहरु गरिरहेका छन् ।
यो सिद्धान्तलाई हेर्ने हो भने वास्तवमै ‘नेपालको कानुन दैवले जानुन्’ भन्ने उखान टुक्का सार्थक गराएको देखिन्छ । उदाहरणका लागि मुलुकी फौजदारी संहिता २०७४ मा करणी सम्बन्धि कसुरको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिइ करणी गरेमा वा मन्जुरी लिएर भएपनी १८ बर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ’ भनी उल्लेख गरेको छ ।
मुलुकी ऐन २०२० मा यो उमेर १६ बर्ष थियो । प्रथमतः कानुनमा आएको यो अन्तर धेरैलाई थाहा नै भएको छैन । त्यसैले अझै पनि १६ बर्ष भएपछि महिलासँग सम्पर्क राख्न मिल्छ भन्ने आम जनतालाई लाग्ने गर्छ । यस्ता अपराधहरु दिनहुँ बढ्दो क्रममा छन् । के नेपालका सबै मानिसले कानुन जानेकै छन त ?
‘कानुनको अनविज्ञता क्षम्य हुँदैन’ भन्ने सिद्धान्त यदि साँच्चीकै छ भने नेपालमा आधारभुत कक्षाबाट नै कानुनका विषयको अध्यापन गराइयोस् । सर्वसाधारण नागरिकले कानुन, नेपालको संविधानको बारेमा जानकारी हुनैपर्छ । कतिपय अवस्थामा कानुनको अनविज्ञता क्षम्य हुँदैन भन्ने सिद्धाान्त मानिँदैन जस्तै मानसिक सन्तुलन कायम नभएको व्यक्ति, बालिकाले कुनै अपराध गर्दछ भने त्यसमा कानुनको अनविज्ञता क्षम्य हुन्छ ।
न्यायको सम्पादन र कानुनको कार्यान्वयन गर्नु राज्यको दायित्व हो । अज्ञानता चेतनाको कमिका कारण हुने अपराधलाई सजायले मात्र घटाउन सकिँदैन । कानुन स्पस्ट, निश्चित र जान्न सकिने हुन्छ र प्रत्येक व्यक्तिले कमसेकम आफुसँग सम्बन्धित कानुनको जानकारी राख्नु, उसको कर्तव्य हो । फौजदारी कानुनमा कानुनको अज्ञानता कहिलै पनि क्षम्य मानिदैन । यो सिद्धान्त राज्यभित्रका प्रत्येक व्यक्ति, नागरिक, विदेशी सबैलाई समान रुपमा लागू हुन्छ ।
(लेखक तुलसीपुर मेट्रो कलेज बीए.एल.एल.बी. चौथो सेमेष्टरकी छात्रा हुन् ।)
