मेरो व्यक्तिगत मान्यता यहि छ कि कसैलाई धन्यवाद दिनुछ, कसैप्रति आभार व्यक्त गर्नुछ, कसैलाई आदर वा सम्मान दिनुछ, कसैलाई सहयोग वा पुरस्कृत गर्नुछ, कसैको कामको तारिफ गर्नुछ वा कसैलाई खुसीको खबर सुनाउनुछ भने तिनको जीन्दगी रहँदैमा गरीहाल्नु, दिइहाल्नु, सुनाइहाल्नु किनकि मरेपछि कसैलाई दिइएको सहयोग सम्मान र खुसी त मर्ने व्यक्तिलाई थाहै हुँदैन् ।
म, कसैलाई मरेपछि होइन, जिउँदो छँदै सम्मान दिनुपर्छ वा दिइ हाल्नुपर्छ भन्ने कुरामै बिश्वास राख्ने व्यक्ति भएपनि केहि समयअघि घटेको एउटा घटनाले मृत्यु पश्चात दिइने आदर सम्मानको, संसार छोडेर जाने हरुका लागि कुनै अर्थ नभए पनि उहाँहरुको विछोडमा आँशु बगाउने साथी शुभचिन्तक र परिवाहरुका लागि भने यो कुराको ठूलो अर्थ हुने रहेछ भन्ने कुरा बुझ्न र महसुस गर्न पाएँ ।
मलाई यो कुरा बुझ्ने अवसर नेपाल पूर्वप्रहरी संगठनले दियो । एकदिन नेपाल पूर्वप्रहरी संगठन झापा जिल्लाका अध्यक्ष पूर्व प्रहरी निरीक्षक (इन्स्पेक्टर) खड्ग बहादुर खड्काले मलाइ फोन गरी बताउनुभयो । आज हाम्रो एक पूर्वप्रहरी हवल्दार सावको स्वर्गारोहण भयो ।
हामी करीब १०० जाना पूर्वप्रहरी घाटमा पुग्यौं । घाटमा परिवारजन हातखुट्टा छोडेर जोड जोडसँग छाती पिटी पिटी रोइरहनुभएको थियो । हामी पनि त्यो देखेर दुःखी भयौं । उहाँको शवलाई दागबत्ती दिन तयार पारिएको थियो । तर अन्तिम सलामी दिन प्रहरीको टोली नआइपुगेकोले हामी शव कुरिरहेका थियौ ।

यत्तिकैमा प्रहरीको सलामी टोली त्यहाँ आइपुग्यो । आफन्तको रुवाइ झन् बढ्यो । वहाँहरुको रुवाइले, आकास चिरीएला झै महसुस हुन्थ्यो । खड्ग साबले अगाडि भन्नुभयो, जसै दागबत्तीसँगै अन्तिम सलामी अर्पण गरियो, हामी त्यहाँ उपस्थित पूर्वप्रहरी साथीहरु हात निधारमा लगेर सलाम गर्दै दुःखी र भावुक हुन थाल्यौं, कोहि रोयौं, तर देख्छु, केहिबेर अघिसम्म डाँको छोडेर रोइरहेका परिवारजनको रुवाइ सलामीको आवाजसँगै एकैपटकमा ठ्याक्कै बन्द भयो ।
मानौं ति हबल्दार साहेब पुःन जीवीत हुनुभएको थियो । अघिसम्म कसैले सम्झाउन नसक्ने गरी आकाश नै खस्लाझै गरी रोइरहनुभएका परिवारजनहरु, सम्मान गारतको कासनसँगै रुन बन्द गरी, गौरवको महशुस गर्न थाल्नुभयो । त्यो एक अन्तिम सलामीमा के त्यस्तो तागत रहेछ कुन्नी ? त्यहाँ उपस्थित रमितेहरु पनि एक आर्कामा काने खुसी गर्दै भन्न थाले ‘जागिर त प्रहरीमै खानु पर्नेरहेछ ।’
म त्यस फोन आउँदा एक काममा व्यस्त थिएँ । तर खड्गले यसरी विवरण सुनाउँदै थिए कि मैले ‘म केहि बेरपछि आफै फोन गर्छु भन्न वा म व्यस्त छु भनी म्यासेज पठाउन पनि सकिन ।’ अन्तमा खड्गले भने, ‘सर सेना वा अन्य सुरक्षा फौजमा पनि नभएको यो व्यवस्था, हजुरले गराइदिनुभएकोमा हजुरलाई मुरी मुरी धन्यवाद ।’ मैले भने ‘यो धन्यवाद डीबी लामा साब र तपाईहरुको टिमलाई जानुपर्दछ ‘ । उनी चुप रहे ।
पूर्वप्रहरीको सिपाही वा परिचर समेतले मृत्युपश्चात सलामी मलामी पाउने व्यवस्था स्व. डीबी लामा साब र वहाँको टिमले प्रहरी प्रधान कार्यालयको मुल गेटमा सुत्नेदेखि गृह मन्त्रालय घेर्ने समेत गरी निर्णय गराएका थिए । आज त्यस व्यवस्थाको फाइदा सबैले पाएका छन् ।
त्यस बेलाका लामा साबका टिममा यो काम गराउन हरेक आन्दोलनहरुमा सहभागि हुनेमध्ये एक झापाका खड्ग साब पनि स्वयम् थिए । त्यसैले हो म हरेक लामा साबको समयमा सँगै काम गरेका अग्रजहरुको उच्च सम्मान गर्दछु ।
त्यस समय लामा साबको टिममा रही यो काम गराउन मरी मेटेर लाग्ने, धरानका लोक बहादुर थिंग साब, विराटनगरका दिपक डीआईजीपी साबका बुबा गौरी नाराएण श्रेष्ठ, सुनसरीका रत्न भण्डारी साब, सप्तरीका गोपीलाल चौधरी साब, सिन्धुपाल्तोकका याम बहादुर पुरी साब, महोत्तरीका महेश्वर राउत, राधेश्याम सिंह, सर्लाहीका बलबहादुर गोले, पाल्पाका इश्वरी प्रसाद खनाल साब, तत्कालिन अध्यक्ष, भैरहवाका घनेन्द्र पाण्डे साब, निजामुदिदिन पठान साब, महेन्द्रनगरबाट जोशी साब, प्रेम सिंह ठगुन्ना साब, र टिका दत्त जोशी साब काठमाडौंका भिम, बटुक कृष्ण, राम बहादुर, गंजसिह गुरुगं, गुन्जमान साब, सहिद परिवारबाट सीता बोहरा, कौशिला जोशी, मथुरा पन्थ, देवकी नाथ, पद्मा अवस्थी, भगबती सिंह, जुना शाही, (अरु धेरै नाम हरु हुनुहुन्छ जस्को नाम रेकर्ड नै हेर्नुपर्ने हुन्छ ।)
यसमध्ये कति योगदान दिनेहरु पछि परिषद्तर्फ पनि जानुभयो । वहाँहरुलाई नेपाल पूर्व प्रहरी संगठनका हरेक पदाधिकारीहरु र वहाँहरुका कारणले मरेपछि समेत सम्मान प्राप्त गरेका परिवारहरुले उच्च सम्मान गर्नु पर्दछ ।
कुनै पनि संगठन वा परिवार एक जेनेरेसनबाट अर्को जेनेरेसनमा हस्तान्तरण हुन्छ । जिम्मेवारी बुझ्ने जेनेरेसनले आफु भन्दा पहिला योगदान दिने अग्रजहरुलाई जीवन्त राख्नुपर्दछ, सम्मान गर्नुपर्दछ र आफ्नो टिमले नयाँ योगदान थप्नु पर्दछ ।
लामा साबको समयमा र त्यस भन्दा अघिका समयमा पनि हाम्रा अग्रजहरुले प्रहरी व्र्गको हितमा थुप्रै असल काम हरु गरेर गए, जसमध्ये एक महत्वपूर्ण काम पूर्व प्रहरीहरुले मृत्युपश्चात सलामी पाउने पनि थियो । यो काम नेपाल पूर्व प्रहरी संगठनले नै गराएको थियो ।
हाम्रा अग्रजहरुसँग सिकेर र प्रेरणा लिएर हामीले पनि केहि असल काम हरु थपेका छौं । पूर्व प्रहरीहरुका लागि योगदान दिने अग्रजहरुलाई नेपाल पूर्व प्रहरी संगठनका हरेक पदाधिकारीहरुले सदा आदर र उच्च सम्मान गर्नुहोला ।
तपाइहरुले पूर्व प्रहरी साथीहरुलाई पनि आफ्नो संगठनको कार्यालयमा आमन्त्रण गरी हाम्रा गतिविधि र उपलब्धीहरु बुझाइदिनु होला किनकि संगठनसँग नजोडिनुभएका साथीहरुले यस संगठनको व्यापकता, प्रभावकारीता, योगगान र महत्व बुझ्नु भएकै छैन । वहाँहरुलाई पनि हाम्रो योगदान र महत्व बुझाउन जरुरी छ ।
(लेखक बसन्त कुँवर नेपाल पूर्व प्रहरी संगठनका राष्ट्रिय अध्यक्ष हुन् ।)
