काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर अहिले त्यति चर्चामा छैनन् । खरो शैली र साहसिक भूमिकाका कुँवर आईजीपी भएपछि फरक शैलीमा अगाडि बढ्ने प्रयास गरिरहेका छन् ।
आम प्रहरी अधिकृतभन्दा फरक शैली र स्वभावका आईजीपी कुँवरको सुरक्षा वृत्तमा बेग्लै पहिचान छ । उनी संगठनभित्र जति लोकप्रिय छन्, बाहिर पनि उनको छवि राम्रो छ ।
बोल्ड व्यक्तित्व र दृढ आत्मविश्वास, व्यावसायिक शैलीका कारण उनी आफूलाई फरक आईजीपीको कोटीमा राख्छन् । विगतमा धेरै अप्ठ्यारा अवस्थामा उनले निकै सुझबुझका साथ साहसिक भूमिका निर्वाह गरेका छन् ।
करिब २९ वर्ष लामो व्यावसायिक यात्रामा उनले थुप्रै महत्वपूर्ण मोर्चाको कमान्ड सम्हालेका छन् तर कुनै पनि अप्रेसन तथा मिसनमा उनी असफल भएका छैनन् । जोखिमसँग जुध्न र संकटलाई सामना गर्ने साहस र धैर्य उनीसँग छ ।
त्यसैले हल्ला कम, काम बढी गर्ने महानिरीक्षक कुँवरको नयाँ रणनीति छ । मातहतका कमाण्डर तथा कर्मचारीलाई पनि उनले प्रचारभन्दा नतिजातिर बढी केन्द्रित हुन निर्देशन दिएको प्रहरी प्रधान कार्यालयमा कार्यरत एक सिनियर प्रहरी अधिकृत बताउँछन् ।
केही प्रकरणसँगै विगतमा प्रहरीभित्र आन्तरिक गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा र राजनीतिक चलखेल जसरी हाबी भयो, त्यसले फिल्डका हरेक सिपाहीको मनोबल कमजोर बनाएको थियो र प्रहरीको छविसमेत धुमिल भएको थियो ।

त्यसैले प्रहरी महानिरीक्षक कुँवर नेपाल प्रहरीको ‘चेन अफ कमान्ड’लाई थप कसिलो बनाएर हरेक सिपाहीको मनोबललाई उच्च बनाउने र प्रहरीको छवि चम्काउने अभियानमा लागिपरेका हुन् ।
प्रहरी संगठनमा सरुवा तथा बढुवामा हुने चलखेल र दौडधुपका कारण प्रहरीमा विगतमा देखिएको बेथिति र अनुशासनहीनतालाई कडाइका साथ अंकुश लगाउने काम आईजीपी कुँवरले गरिरहेका छन् ।
आईजी कुँवर भन्छन्, ‘विगतमा त्यस्ता केही गतिविधि भए होलान् तर अब प्रहरीमा त्यस्तो हुँदैन, चल्दैन । दौडधुप र भनसुनले सरुवा/बढुवा हुँदैन । कामको मूल्यांकन गरेर प्रक्रियागत रूपमा हुन्छ, त्यो सिस्टम हामीले विकास गरिसकेका छौं ।’
आन्तरिक सुशासन र सदाचारिताको विकास गरेर नेपाल प्रहरीलाई एउटा नमूना प्रहरी बनाउने लक्ष्यका साथ उनले मिसन अगाडि बढाएका छन् । ‘यो मेरो अठोट हो, म आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई नमूना बनाउन चाहन्छु । त्यो काम शुरु भइसकेको छ,’ उनी भन्छन् ।
आईजीपी कुँवरको कार्यकालमा रिक्त पदहरुमा तत्काल बढुवा समेत भएको छ । नत्र यसअघिका आईजीपीहरुको कार्यकालमा वर्षौंदेखि पद रिक्त हुँदा पनि बढुवा हुन सकेको थिएन । त्यसैले पनि कुँवरको कार्यकालमा जवानदेखि उच्च तहमा एक खालको उत्साह थपिएको छ ।
जवानदेखि उच्चअधिकृतसम्मको समयबद्ध बढुवा र सरुवाले मनोबल बलियो हुने र व्यावसायिकता झन् बढ्ने विश्वास कुँवरको छ । सरुवा/बढुवा र पदस्थापनमा जुन प्रकारको अलमल र ढिलाइ हुंदा अनेक खालका चलखेल हुने र त्यसले संगठनका सदस्यहरूलाई अन्योलमा पार्ने जुन अवस्था थियो, त्यो अब अन्त्य भएको छ ।

आईजीपी कुँवरले आफूले जिम्मेवारी सम्हालेपछि आपराधिक गिरोह र समूहविरुद्ध समेत विशेष अप्रेसन चलाएका छन् । कुँवर प्रहरी प्रमुख भएपछि तस्करी नियन्त्रण समेत भएको छ ।
०००
त्यसैगरी आईजीपी कुँवरको नेतृत्वमा गलत काम गर्ने केहि प्रहरीलाई कारवाही पनि गरिएको छ । त्यस्तै राम्रो काम गर्नेहरुलाई भने पुरस्कृत गरिएको प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डिआईजी) कुवेर कडायतले बताए ।
‘नराम्रो काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गरिदा नराम्रो काम गर्नेको मनोवल घटेको छ भने राम्रो काम गर्नेको मनोवल बढेको छ,’ डिआईजी कडायतले भने, ‘कुँवरको नेतृत्वमा नीतिगत कार्य तथा सुधारका कार्यक्रम थुप्रै भएका छन् ।’
