काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले विपद्का बेला स्थानीय तह सक्रिय भएनन् वा केन्द्रसँग समन्वय भएन भन्दै आरोप लगाउनु नहुने बताएकी छन् ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्को समयमा पालिका र वडाका संयन्त्रहरू अटोमेटिक सक्रिय हुनुपर्नेमा नभएको भन्दै असन्तुष्ट जनाएका थिए ।
तर धितालले मंगलबार सामाजिक सञ्जालमार्फत विपद्बाट प्रभावित स्थानीय तह आफैँ पनि पीडित हुने भएकाले काठमाडौंमा बसेर स्थानीय तहलाई मात्र आरोप लगाउनु किमार्थ उचित नहुने बताएकी हुन् ।स्थानीय तह आफैं पनि विपद्को पीडित भएको बताउँदै उनले उसको आफ्नै सहर बाढीले बगाएर बगर बनेको स्मरण गराइन्।
‘काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन, हामीसँग समन्वय भएन भनेर मात्र आरोप लगाउनु किमार्थ उचित हुँदैन।’ उनले प्रश्न गर्दै भनिन्, ‘हामीले कस्तो नसम्झेको स्थानीय तह आफैं पनि यो विपद्को पीडित हो। उसको आफ्नै सहर बाढीले बगाएर बगर बनेको छ। जसले आफैं गाँस, बास र कपास गुमाएको छ, उसैबाट पूर्ण क्षमतामा सोच्न, निर्णय गर्न र अरूलाई सम्हाल्न अपेक्षा गर्नु कति न्यायोचित हो ?’
धितालले प्रभावित प्रदेश र स्थानीय तहलाई कठघरामा उभ्याउनेभन्दा उनीहरूलाई संकटबाट उभिन सक्ने बनाउनु संघीय सरकारको जिम्मेवारी भएको धारणा राखिन्।
उनले भनिन्, ‘प्रभावित प्रदेश र स्थानीय तहलाई कठघरामा उभ्याउने होइन, उनीहरूलाई उभिन सक्ने बनाउने हाम्रो जिम्मेवारी हो। विपद्मा सरकारका तहहरू प्रतिस्पर्धी होइनन्, एकअर्काका सहारा हुन्। हामी सहारा बनौं।’
